काठमाडौं ।
कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनाउने सहमति भएको छ । सहमतिअनुसार अन्ततः रास्वपा, बालेन र कुलमान आगामी निर्वाचनका लागि पावर सेयरिङ गर्दै ७ बुँदे सहमतिसहित एक ठाउँमा उभिने भएका छन् ।
बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ । बालेन र रविबीच आइतबार उक्त सहमति हुँदा कुलमान त्यसमा सहभागी हुनुभएको थिएन ।
त्यसयता उहाँहरू दुई जनाले पटकपटक कुलमानसँग वार्ता गरी सहमतिमा पुग्नुभएको हो । सोमबार कुलमान र रविबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिकतर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत हुनुभएको छ । कुलमान, बालेन र रविलाई मिलाउन जेनजी अभियन्ता सुधन गुरुङले निर्णायक भूमिका खेल्नुभएको थियो । उहाँले कुलमानलाई सोमाबार उज्यालो नेपाल पार्टीको बैठकस्थलबाटै बालेन र रवि समक्ष लैजानुभएको थियो ।
रास्वपाका उपसभापति डीपी अर्यालले तीन जना मिलेर जाने सहमति भएको जानकारी दिनुभयो । सोमबार राति मात्रै सहमतिपत्रमा हस्ताक्षर भएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका थिए ।
स्रोतका अनुसार कुलमानले रास्वपामा आफ्ना लागि सह–सभापति पद माग गर्नुभएको थियो । सँगसँगै, केन्द्रीय समितिदेखि समानुपतिक सूची र प्रत्यक्ष उम्मेदवारतर्फ ३० प्रतिशत हिस्सा उज्यालो नेपाल पार्टीले पाउनुपर्ने उहाँको माग थियो ।
रवि–कुलमान शक्ति बाँडफाँट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरेसँगै उज्यालो नेपाल पार्टीबाट केन्द्रीय कमिटी र प्रतिनिधि सभाको उम्मेदवारमा पनि सिट बाँडफाँड गर्ने सहमति भएको छ ।
उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटीमा वरिष्ठ उपसभापतिसहित महामन्त्री र ३० प्रतिशत हिस्सा पाउने भएको छ । वरिष्ठ उपसभापतिमा कुलमान आफैं जाने भए पनि महामन्त्री कसलाई पठाउने भन्ने पार्टीले निर्णय गर्नेछ ।
अहिले रास्वपामा दुई उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले हुनुहुन्छ । सोमबार भएको सहमतिअनुसार रास्वपाका दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको छ । पार्टीको नाम, दलको झण्डा र चुनाव चिन्ह रास्वपाकै रहनेछ ।
यो सहमतिपछि डीपी अर्याल चौथो र स्वर्णिम वाग्ले पाँचौँ वरीयतामा पुग्नुभएको छ ।
यसअघि नै बालेनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीमा अगाडि सार्ने सहमति भइसकेको छ । उहाँको वरीयता कुलमान घिसिङपछिको हुनेछ । यस्तै फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २० प्रतिशत उम्मेदवार उज्यालो नेपालबाट बनाउने सहमति भएको घिसिङको दाबी छ ।
यो सहमतिअनुसार अब रास्वपाबाट तीन पक्षलाई समेटेर समानुपातिकको बन्द सूची आयोगमा बुझाइने भएको छ । रास्वपा, उज्यालो नेपाल र बालेन पक्षलाई समेटेर समानुपातिक सूची एउटै बुझाइने भएको हो ।
सोमबार रास्वपा र उज्यालो नेपालले छुट्टाछुट्टै सूची बुझाउने तयारी गरेका थिए तर अन्तिम समयमा तीन शीर्ष नेताहरु रवि, बालेन र कुलमान वार्तामा जुटेका थिए । सोही वार्ताले ७ बुँदै सहमति जुटाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी भने परिवर्तन नहुने भएको छ । सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले बालेन्द्र साहलाई साक्षी राखेर हस्ताक्षर गर्नुभएको छ ।











प्रतिक्रिया