काठमाडौं ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची बुझाएसँगै यही फागुण २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दलहरूले सोमबार उम्मेदवारको बन्दसूची बुझाएसँगै तोकिएको समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय हटेको बताउनुभयो ।
अधिकांश राजनीतिक दलहरूको अन्तिम समयमा काम गर्ने प्रवृत्तिका कारण भने सोमबार रातिसम्म निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दलहरूको भीड लागेको थियो । आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबारको समय दिएको थियो । तोकिएको अन्तिम घडीमा मात्र उम्मेदवारको बन्दसूची तयार गरेका अधिकांश राजनीतिक दलहरूले सोमबार राति अबेरसम्म निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाएका हुन् । राजनीतिक दलहरूले आयोगबाट निस्सा लिएरमात्रै अन्तिम समयमा समानुपातिक उम्मेदवारको सूचीका लागि गृहकार्य गरेका थिए ।
पहिलो दिन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १ सय १०, नेपाल लोकतान्त्रिक पार्टीले १२ जना र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाको सूची बुझाएको थियो ।
सोमबार जनप्रिय लोकतान्त्रिक पार्टीले १२ जना, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले २०, गतिशील लोकतान्त्रिक पार्टीले ११, जनता समाजवादी पार्टी, नेपालले १ सय १, समावेशी समाजवादी पार्टीले ३८ र समावेशी समाजवादी पार्टी नेपालले १२ जनाको सूची बुझाएको थियो । त्यसपछि नेपाली कांग्रेसले सूची बुझाएको थियो ।
अन्तिम समयमा हतारमा काम गर्ने दलहरूको पुरानै प्रवृत्तिका कारण विगतमा झंै यसपटक पनि समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता प्रक्रिया अघि बढाउन आयोगका कर्मचारीहरू रातभर सक्रिय रहनु परेको थियो । हिजो साँझसम्म ६० वटा दलले सूची बुझाएका थिए । कार्यालय समयभित्र आयोग परिसरमा प्रवेश गरेका सबै दलहरूलाई कार्यालय समय सकिएपछि पनि रातभर सेवा दिइएको थियो । समानुपातिक निर्वाचनमा भाग लिने प्रयोजनले १ सय वटा दलले आयोगमा दल दर्ता गराएका छन् ।
आयोगले दुईवटा काउन्टर बनाएर २० जना कर्मचारीमार्फत दलहरूलाई सेवा दिएको थियो । समानुपातिकको बन्दसूची पेस गर्ने कामलाई दुई चरणमा गरेको थियो । पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे÷नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने र त्यसपछि उम्मेदवारको बन्दसूची बुझाउने हो । उम्मेदवारहरूले निस्सा लिएर मात्र समानुपातिकको सूची तयारमा जुटेका थिए । ‘अनलाइनबाट भर्ने पद्धति नमिलाएसम्म अन्तिम क्षणमा सूची बुझाउने बानी हट्ला जस्तो छैन । पहिला पनि यस्तै । अहिले पनि रातभरि खट्ुनुपर्ने अवस्था छ ।’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो ।
दलहरूले बुझाएको सूची दर्ता भएपछि माघ १५ गतेदेखि २० गतेसम्म आयोगले उम्मेदवारको सूची विस्तृत रूपमा अध्ययन गर्ने बताउँदै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो – ‘दलहरूले बुझाएको उम्मेदवारको सूची प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को अनुसूची १ अनुसार छ कि छैन भन्ने जाँच हुन्छ । साथै समानुपातिक प्रतिनिधित्वको व्यवस्थाअनुसार छ कि छैन भन्ने पनि हेरिन्छ ।’
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोकेबमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पु¥याएरमात्र उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने प्रावधान रहेको छ ।
यसरी नामावली अध्ययन गर्दा दलहरूले पठाएको सूची क्लस्टरअनुसार नमिलेको खण्डमा २० गतेपछि पुनः नाम मिलाएर पठाउन आग्रह गरिने छ । प्रतिनिधिसभामा १ सय ६५ सदस्यको प्रत्यक्ष र १ सय १० सदस्यको चयन एक समानुपातिक निर्वाचन प्रणलीद्वारा गरिन्छ । १ सय १० सिटमा हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्द सूची बुझाउँदा खसआर्य ३३, आदिवासी जनजाति ३२, मधेसी १८, दलित १५, थारू ७, मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा बुझाउनुपर्ने हुन्छ । समग्रमा ५० प्रतिशत महिला हुनुपर्छ ।
माघ २१ गतेदेखि २७ गतेसम्म दलहरूले विधि र प्रक्रियाअनुसार नाम संशोधन गरेर पठाउन सक्नेछन् । प्रवक्ता भट्टराईले त्यसपछि उम्मेदवारले नाम फिर्ता लिन पाउने, दलहरूले नाम हटाउन सक्ने, दाबी–विरोध गर्न पाउने तथा अन्तिम नामावली प्रकाशन गर्नेजस्ता चरणहरू क्रमशः अघि बढ्ने जानकारी दिनुभयो ।











प्रतिक्रिया