११ मध्ये ७ वटा प्रश्न हुबहु दोहोरियो

७ हजार विद्यार्थीको भविष्य अन्यौलमा

1.41k
Shares

–तीन वटामात्र दोहोरिएको डीन आचार्यको दाबी
–पुनः परीक्षा हुने सम्भावना

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह (एमएड) दोस्रो सेमेस्टरको शिक्षा तथा विकास विषयको ७ वटा प्रश्न हुबहु दोहोरिएको छ । गत वर्षको प्रश्नपत्र यो वर्षको प्रश्नसँग हुबहु दोहोरिँदा पनि शिक्षाशास्त्र संकायका डीन प्राडा वेदराज आचार्यले झुट बोल्नुभएको छ ।

नेपाल समाचारपत्रसँग प्राप्त प्रश्नपत्र अध्ययन गर्दा ७ वटा दोहोरिएका फेला परेको थियो । उक्त विषयमा जानकारी लिँदा डीन आचार्यले तीनवटा मात्र दोहोरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘प्रश्नपत्र निर्माण गर्दा करिब तीन वटामात्र दोहोरिएका छन् । यसलाई ठूलो गल्ती मान्न मिल्दैन । प्रश्नपत्र तयार पार्ने अध्यापक, विषय समिति र डीन कार्यालयको लापरबाहीले प्रश्नपत्र दोहोरिएको हो ।’ डीन आचार्यले प्रश्नपत्र कस्तो बन्यो भनेर सबै विषयमा आफूले हस्तक्षेप गर्न नमिल्ने तर्क राख्दै भन्नुभयो– ‘परीक्षा हेर्ने सहायक डीन हुनुहुन्छ । पाँच जना विज्ञको विषय समिति हुन्छ । विषय शिक्षकले प्रश्नपत्र बनाएका हुन्छन् । आफूले चासो देखाए अन्यथा हुने भएपछि सबैलाई विश्वास गर्दा गम्भीर त्रुटि भएको हो । परीक्षामा गम्भीर लापरबाही भएपछि पुनः परीक्षा हुने सम्भावना देखिएको छ ।’

उहाँले आइतबार प्रश्नपत्र निर्माण गर्ने सहायक डीन, विषय शिक्षक र विज्ञसँग स्पष्टीकरण सोधेको जानकारी दिनुभयो । स्रोतका अनुसार डीन प्राडा आचार्यले हल्का ढंगले स्पष्टीकरण लिनुभएको छ । शिक्षा तथा विकास विषयको कोड नम्बर ५३३ को प्रश्नपत्र गत वर्ष २०८१ सँग अधिकांश प्रश्न हुबहु रहेको छ । वि.सं २०८१ को परीक्षाको ग्रुप ‘बी’को १ र त्यसको अथवामा सोधेको प्रश्न तथा २, ३, ५, ६ नम्बरमा सोधेको प्रश्न दोहोरिएको छ भने ७ र ७ को अथवामा सोधिएको प्रश्न २०८२ सालमा पनि सोधिएको छ ।

‘अघिल्लो वर्षका प्रश्नहरू तलमाथि पारेर झुक्याउने काम भएको छ । त्यसबाहेक सबै प्रश्नको उस्ताउस्तै थिम मिल्नेखालको प्रश्न सोधिएको छ । त्यतिमात्र होइन अधिकांश लगातार सोधिने सब युनिटबाट प्रश्न सोधिएको फेला परेको छ । अझ सरल भाषामा सबै प्रश्न गत वर्षकै हुबहु देखिएको छ । यो वर्ष दोस्रो सेमेस्टरमा करिब ७ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

विगत लामो समयदेखि अघिल्ला वर्षमा पनि प्रश्नपत्र दोहोरिएको भन्दै त्रिविको आलोचना हुने गरेको थियो । तर, यो वर्ष एकै विषयमा ७–७ वटा प्रश्न र सबै प्रश्नको थिम दोहोरिँदा पनि डीन कार्यालय मौन छ । मंसिर २८ गते सम्पन्न परीक्षाको प्रश्नपत्र हुबहु भएको विषयमा विद्यार्थीले बल्ल थाहा पाउन थालेका छन् । केही विद्यार्थी पुनः परीक्षा हुनुपर्ने पक्षमा छन् भने केही चुपचाप छन् । त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययन गर्नेलाई सजिलो भएको होला, देशैभरका क्याम्पसबाट परीक्षा दिएका विद्यार्थीलाई ठूलो समस्या भएको छ ।

डीन कार्यालयले अक्षम्य लापरबाही गर्दा पनि डीन आचार्यले सामान्य रूपमा हेर्नुभएको छ । डीन कार्यालयले पुनः परीक्षा लिने विषयमा केही सोचेको छैन । त्रिवि परीक्षा प्रमुख रजिस्टार केदार रिजालसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उपकुलपति प्राडा दीपक अर्यालले प्रश्नपत्र दोहोरिएको विषयमा अध्ययन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘डीनसँग सोधेर यस विषयमा जानकारी लिनेछु ।’ उहाँले ७ वटा प्रश्न गतवर्षको हुबहु भए फेरि परीक्षा लिने गरी निर्देशन दिने बताउनुभयो ।

यो प्रश्नपत्र आउट भएको अवस्था, परीक्षाको मर्यादा उल्लंघन भएको अवस्था, बारम्बार एकै व्यक्तिको अधीनमा प्रश्न निर्माणको जिम्मा रहेका कारण समस्या भएको हो । डीन कार्यालयमा प्रश्न बैंक नहुनु, एक–दुई सेट प्रश्नमात्र बनाएर परीक्षा लिनु, प्रश्नपत्र मोडरेसनमा एकसेटको जम्मा कर कटाएर ६५० रुपियाँ व्यवस्था गर्दा पनि लापरबाही बढेको स्रोतको भनाइ छ ।

तीन जनाले मोडरेसन गर्दा एकको भागमा २०० मात्र हुने हुँदा विज्ञको पनि लापरबाही देखिएको छ । पहिले प्रकाशित प्रश्न हो वा होइन भन्ने नहेर्ने र एक वर्षभन्दा पहिला मोडरेसन गरेका प्रश्न रिमोडरेसन नगरी प्रयोग गर्नुले यस्ता घटना दोहोरिएको स्रोतको भनाइ छ । प्राप्त जानकारीअनुसार २०७९ मा प्रश्न निर्माणकर्ताले बुझाएको प्रश्न रिमोडरेसन नगरी २०८१ र ०८२ मा सोधिएको देखिन्छ ।

यसअघि पनि यस्तै प्रकृतिको घटनामा प्रा. होमनाथ भट्टराईमाथि कारबाही भई उहाँलाई विषय समितिको अध्यक्ष पदबाट बर्खास्त गरी पुनः परीक्षा लिइएको नजिर छ । स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘यति स्पष्ट रूपमा प्रश्नपत्र बाहिरिएको अवस्थामा अब के गर्ने ?’ विगतको नजिरअनुसार छानबिन र आवश्यक कारबाही अघि बढाउनुपर्छ । उपकुलपति प्राडा अर्यालले भन्नुभयो–‘समिति बनाएर छानबिन गर्न र गलत गर्नेमाथि कारबाही गर्न निर्देशन दिनेछ ।’