काठमाडौँ l
ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते रेड नोटिस जारी भएका बागलुङ नगरपालिका–२, श्रीनगर घर भएका जावेद अनवरुद्दीन युएईस्थित एनसिबी अबुधाबीको समन्वयमा पक्राउ परेका हुन्।
पक्राउ परेका अनवरुद्दीनलाई सम्बन्धित मुद्दामा आवश्यक कारबाहीका लागि आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
प्रहरीका अनुसार उनी लामो समयदेखि फरार रहँदै आएका थिए। अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ अभियानअन्तर्गत युएईमा उनको लोकेशन पत्ता लागेपछि पक्राउ गरिएको हो।
नेपाल ल्याइएका अनवरुद्दीनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बुझाइएको प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ।











प्रतिक्रिया