काठमाडौं।
नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष आफ्नो बयान दिएका छन्। आयोगका पदाधिकारीहरूले सोधेका प्रश्नको मौखिक जवाफ दिनुका साथै उनले लिखित धारणा पनि पेस गरेका छन्।
आयोगको सचिवालयमार्फत उपलब्ध गराइएको लिखित बयानमा लेखकले प्रदर्शनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको स्पष्ट पारेका छन्। गृहमन्त्रीको हैसियतले आफूले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा निकायका अधिकारीहरूमै निहित रहने उनको भनाइ छ।
लेखकले भदौ २२ गते बसेको सुरक्षा समितिको बैठकमा ‘कुनै पनि हालतमा मानवीय क्षति हुन नदिनु’ भन्दै उच्च संयमता अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन्। तर ‘जेनजी’ आन्दोलनको नाममा लोकतन्त्रविरोधी तत्त्वहरू घुसपैठ गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक दिशातर्फ मोडिएको उनको दाबी छ।
उनका अनुसार गोली चलाउने, लाठीचार्ज गर्ने वा अन्य बल प्रयोग गर्ने निर्णय सुरक्षाकर्मीहरूले तत्कालीन परिस्थितिको मूल्याङ्कनका आधारमा गरेको हुन सक्छ, तर त्यसका लागि आफूबाट कुनै प्रत्यक्ष आदेश नदिइएको स्पष्ट गरिएको छ।
राज्यका प्रमुख अङ्गहरूमाथि आक्रमण हुनु लोकतन्त्र कमजोर पार्ने उद्देश्यले गरिएको सुनियोजित षड्यन्त्र भएको लेखकको आरोप छ। घटनाका क्रममा केही युवाहरूको ज्यान गएको विषयले आफू गहिरो रूपमा मर्माहत भएको उल्लेख गर्दै उनले नैतिक जिम्मेवारी स्वीकार गरी तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएको पनि स्मरण गराएका छन्।











प्रतिक्रिया