काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावका कारण नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउँदै सत्य–तथ्यमा आधारित दस्तावेज प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।
नेपाली पत्रकारहरूलाई पहिलो पटक संगठित गरी त्यसको अगुवाइसमेत गरेका स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठको ११०औं जन्मजयन्तीको अवसरमा ललितपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभयो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेका सो समारोहमा मन्त्री खरेलले वास्तविक प्रमाण उपलब्ध गराएमा सत्यनारायण बहादुर श्रेष्ठलाई राज्य उचित सम्मानसहित स्थापित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सत्य र तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने पत्रकारकै इतिहास मेटिनु गलत भएको पनि मन्त्री खरेलको भनाइ रहेको छ ।
सोही अवसरमा सत्यनारायणबहादुर श्रेष्ठकी छोरी सुजिता मानन्धरले आफ्ना बुबाले पत्रकारिता र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । राणाकालमा निर्वासित जीवन बिताउन भारतको कलकता पुग्नुभएका श्रेष्ठ बहुुदलीय प्रजातन्त्रपश्चात् नेपाल फर्किएर पुनः शिक्षा क्षेत्रमा काम गर्नुभएको अनुभव सुनाउनुभएको थियो ।
सो अवसरमा स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्र सेनानी सम्मान अग्रज पत्रकार रामकृष्ण कर्माचार्य र पुरस्कार पत्रकार प्रकृति अधिकारीलाई प्रदान गरिएको थियो । सो पुरस्कार राशि २५ हजार रुपियाँ रहेको छ ।
पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको रूपमा श्रेष्ठलाई स्थापित गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवा पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको बताउनुभयो । श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरूकै सबभन्दा पहिलो पेशागत संगठनको रूपमा नेपाल पत्रकार संघ गठन भएको थियो । समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यले संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको इतिहास छ ।











प्रतिक्रिया