लमजुङ।
लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुस्मेमा मञ्जुश्री सम्वत २८६२ औं ता ल्हो सोनाम ल्होछारको अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । कार्यक्रम आगामी माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ ।
तामाङ समुदायको महान सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसर पारी आपसी सद्भाव, सामाजिक एकता, संस्कृति संरक्षण र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक श्री लोक प्रिय युवा क्लबका अध्यक्ष मदम बहादुर तामाङले बताए ।
वि.सं. २०५२ सालमा स्थापना भएको लोक प्रिय युवा क्लबले भुस्मे क्षेत्रमा सामाजिक, सांस्कृतिक, खेलकुद तथा युवामैत्री गतिविधिहरु निरन्तर गर्दै आएको छ । क्लबले स्थापना कालदेखि नै स्थानीय युवालाई संगठित गर्दै समुदायमा सहभागिता र विकासमुखी सोच विस्तार गर्दै आएको आयोजकको भनाइ छ ।
पूर्ण रुपमा तामाङ समुदायको बसोबास रहेको भुस्मे गाउँ मौलिक सांस्कृतिक पहिचान बोकेको क्षेत्र हो । तामाङ होमस्टे, बेमौसमी तरकारी खेती र आलु उत्पादनका कारण गाउँ जिल्लामै परिचित छ । समुन्द्र सतहदेखि करिब १६ सय मिटर उचाइमा रहेको यस स्थानबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे र मनास्लु हिमाल अवलोकन गर्न सकिने भएकाले पर्यटन सम्भावना समेत उच्च रहेको छ ।
कार्यक्रम अन्तर्गत हुने वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई २० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी खुल्ला महिला नृत्य प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा द्वितीयलाई १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ । अध्यक्ष तामाङका अनुसार प्रतियोगितामा ३० वर्ष माथिका महिलाहरु मात्र सहभागी हुन पाउनेछन् । समूहमा ४ देखि ६ जना सहभागी हुनुपर्नेछ भने सबैले नागरिकताको प्रतिलिपि अनिवार्य रुपमा बुझाउनुपर्ने आयोजकले जनाएको छ ।
कार्यक्रम संचालनका लागि करिब १ लाख ८५ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । पुरस्कार, मञ्च व्यवस्थापन, साउण्ड सिस्टम, प्रचार–प्रसार, निर्णायक तथा स्वयंसेवक व्यवस्थापन लगायत शीर्षकमा खर्च हुने जनाइएको छ ।
सोनाम ल्होछारको अवसरमा आयोजना गरिने यस खेलकुद तथा सांस्कृतिक कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान गर्ने, युवायुवती र दिदीबहिनीहरुको सक्रिय सहभागिता बढाउने र देश–विदेशमा रहेका समुदायका सदस्यहरुबीच भावनात्मक सम्बन्ध सुदृढ गर्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट सहयोग, सद्भाव र सहभागिताको अपेक्षा गरिएको छ ।











प्रतिक्रिया