काठमाडौँ ।
डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी बीच पार्टी एकताको तयारी तीव्र बनेको छ। दुवै दलका वार्ता टोलीबीच पटक–पटक छलफल भइसकेको र आज आइतबार साँझ ६ बजे शीर्ष तहका नेताहरू सहभागी हुने निर्णायक बैठक बस्ने तयारी भएको छ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम तामाङ ले दुवै पार्टीबीच विचार, कार्यदिशा र संगठनात्मक संरचनाबारे सकारात्मक संवाद भइरहेको बताउँदै आजको बैठक एकताका लागि महत्वपूर्ण हुने जानकारी दिए।
यसअघि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि एकताको तयारीमा रहेको थियो। तर, रास्वपामा विलय हुने गरी नजाने निष्कर्ष निकाल्दै अन्ततः सो प्रस्तावबाट पछि हटेको थियो।
यता, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सुदन किराँती ले पनि दुवै पार्टीबीच निरन्तर संवाद भइरहेको पुष्टि गरे। ‘हामी पटक–पटक छलफलमा बसेका छौँ। आज पनि छलफल हुँदैछ। हाम्रो गन्तव्य स्पष्ट रूपमा पार्टी एकतासम्मको हो,’ उनले भने।
नयाँ वैचारिक धार, वैकल्पिक राजनीतिक शक्ति र संगठनात्मक विस्तारलाई लक्ष्य गर्दै अघि बढिरहेका यी दुई दलबीचको सम्भावित एकताले समकालीन नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्ने विश्लेषण गरिएको छ। आजको शीर्ष तहको बैठकबाट एकताको ढाँचा, नेतृत्व व्यवस्थापन र आगामी कार्यदिशाबारे ठोस निर्णय आउन सक्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया