सत्य–तथ्यका दस्तावेज ल्याउन मन्त्री खरेलको आग्रह


काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावका कारण नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउँदै सत्य–तथ्यमा आधारित दस्तावेज प्रस्तुत गर्न आग्रह गरेका छन् ।

नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गरी त्यसको अगुवाई समेत गरेका स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठको १ सय १० औं जन्मजयन्तीको अवसरमा ललितपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो आग्रह गरे।

नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेका सो समारोहमा मन्त्री खरेलले वास्तविक प्रमाण उपलब्ध गराएमा सत्यनारायण बहादुर श्रेष्ठलाई राज्य उचित सम्मानसहित स्थापित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सत्य र तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने पत्रकारकै इतिहास मेटिनु गलत भएको पनि मन्त्री खरेलको भनाई रहेको छ ।

सोही अवसरमा सत्यनारायणबहादुर श्रेष्ठकी छोरी सुजिता मानन्धरले आफ्ना बुवाले पत्रकारिता र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको विषयमा चर्चा गरेका थिए । राणाकालमा निर्वासित जीवन बिताउन भारतको कलकता पुग्नु श्रेष्ठ बहुुदलीय प्रजातन्त्र पश्चात् नेपाल फर्किएर पुनः शिक्षा क्षेत्रमा काम गरेको अनुभव सुनाएका थिए ।

सो अवसरमा स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्र सेनानी सम्मान अग्रज पत्रकार रामकृष्ण कमाचार्य र पुरस्कार पत्रकार प्रकृति अधिकारीलाई प्रदान गरिएको थियो।सो पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ।

पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवा पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको बताए। श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरुकै सबभन्दा पहिलो पेशागत संगठनको रुपमा नेपाल पत्रकार संघ गठन भएको थियो । समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यले संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको इतिहास छ ।