सत्ता पुनः एमालेकै हातमा जाला त ?

846
Shares

गत भदौ २३ र २४ गतेको जेन्जी समूहको आन्दोलनपछिको वातावरणमा अन्तरिम सरकार गठन भएर त्यसको नेतृत्व पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले गरिरहेको अवस्था छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकोप्टरको उद्धारबाट जेन्जी समूहको सख्त भौतिक कार्यवाहीमा पर्नबाट जागिएका थिए । उता नेपाली काङ्गे्रसका सभापति दम्पत्ीा शेरबहादुर देउवा र आर्जु देउवा राणा भने जेन्जी समूहको भौतिक कार्यवाहीबाट सख्त घाइते भएका र अस्पतालमै बसेर उपचार गरेपश्चात् सार्वजनिक भएका थिए । पछि उपचारकै लागि भनेर उनीहरू दुवै विदेश पनि गएका थिए । विदेश जाँदा कतिले उनीहरूलाई भगौडा भनेर आरोप पनि लगाएका थिए । तथापि उनीहरू स्वदेश फर्केपछि ती कुरा त्यसै सेलाएर गए ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेको दिन चुनावको तिथि तोकेको सन्दर्भमा हाल सबैजसो राजनीतिक दलले महाधिवेशन गर्दै र नेतृत्व चयन गर्दै गरेको अवस्था छ । सबैजसो राजनीतिक दलले चुनावलाई सहर्ष स्वीकार गरेरै यी प्रयासहरू अगाडि बढाइरहेका छन् । हालसम्मको वातावरणलाई आँकलन गर्दा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसमेत चुनाव तोकिएकै समयमा सम्पन्न हुने कुरामा विश्वस्त भएको पाइन्छ । अरु राजनीतिक दलले जस्तै नेकपा एमालले पनि अधिवेशन भक्तपुरको सल्लाघारीमा सम्पन्न गरिसकेको छ । पार्टी अध्यक्षको कार्यभार पुनः पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालेका छन् । उनको विरुद्धमा उठेका व्यक्ति ईश्वर पोखरेलले थोरै मत पाएर पराजय भोग्नुपरेको छ ।

हुन त महाधिवेशनअगावै ओलीले जित्छन् भनेर धेरै आँकलन गरिसकेको भए तापनि औपचारिकता पूरा गर्नका लागि मात्र चुनाव गराएको जस्तो लाग्थ्यो । त्यतिका वर्ष सत्ताको हालिमुहाली चलाएर आम कार्यकर्तालाई अदपमा राख्न सक्ने ओलीलाई ‘हो हजुर’को रटानमा अभ्यस्त भएका पोखरेलले चियाउन सक्ने कुरो थिएन । पोखरेलको तुलनामा ओलीले विविध थरीका षड्यन्त्रका तानाबाना बुन्न सिपालु भएका कारण पनि अव पाँच वर्षका लागि निष्कण्टक शीर्ष पद हत्याउन सफल भएका हुन् । अर्को कुरा, पोखरेलको तुलनामा ओलीसँग अथाह खर्च गर्न सक्ने धन पनि थियो । यतिका धेरै यन्त्र– साम, दाम, दण्ड, भेदजस्ता सबैतिरका कुराको व्यवस्था भएपछि अध्यक्ष पद नजित्ने भन्ने कुरै आउँदैन । कैयौँ कार्यकर्ताले ओलीको उद्दण्ड स्वभाव सम्झिए पनि उनलाई भोट दिएर जिताउन विवश भए । ओलीको व्यवहारदेखि आजित भएका कैयौँ कार्यकर्ता वा पार्टी सदस्यहरुले एमाले पार्टी नै परित्याग गरेको कुरो पनि घोषणा गरेको सुनियो ।

नेकपा एमालेको अधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भएपछि गर्वले फुलेका केपी शर्मा ओली आफ्ना कार्यकर्तासमक्ष विभिन्न निर्देशन जारी गर्ने क्रममा निकै आक्रामकरुपमा प्रस्तुत भएका देखिन्थे । उनी अबका दिनमा आफू र आफ्नो राजनीतिक दलको रक्षाका लागि हरेक गाउँमा युवा दस्ता तयार गर्नू भन्ने आदेश फर्मान गर्दै थिए । यदि कसैले एमाले पार्टीलाई छोयो मात्रै भने पनि त्यसको सत्यानाश गर्ने कुरा ओकल्दै थिए । देश ठप्प पार्ने भन्ने खालका अभिव्यक्ति पस्कँदै कार्यकर्ता र सदस्यहरूको हौसला बढाउने काम गर्दै थिए । उनले आफू भाषण गर्दै गरेका बेला कार्यक्रममा उपस्थित भएकामध्ये कुनै कार्यकर्ताको फोनको घण्टी बजेको सुनेर उनी अझै आक्रामक बन्न पुगे । अबदेखि आफूले भाषण गर्दै गरेका बेला कसैको पनि फोनको घण्टी नबजोस् भनेर कार्यकर्तालाई तत्कालै थर्काउन पनि उनले भ्याए । शायद यो थर्काइको समर्थनमा तालीको गडगडाहट पनि गुन्जिएको थियो होला ।

उनी पुनः पार्टी अध्यक्षमा निर्वाचित भइसकेपछिको भाषण आद्योपान्त सुन्दा पनि उनले देशको विकासको गतिलाई यो तरिकाले अगाडि बढाउने भनेनन् । त्यस्तै आम नेपाली जनतालाई यो क्षेत्रमा यति राहत उपलब्ध गराउने, हामी कसैले पनि आर्थिक अनियमितताका क्रियाकलाप नगर्ने, यदि गरेमा पार्टीले कार्यवाही गर्ने, हाल कमजोर र छिन्नभिन्न अवस्थामा रहेको नेकपा एमालेलाई यो तरिकाले एउटै बलियो ढिक्का बनाएर लैजाने कुरा गरेको पनि सुनिएन । विगतका कमी–कमजोरीलाई सबैले आत्सात् गरी आम नेपाली जनतासँग भाइचाराको सम्बन्ध स्थापित गराउँदै त्यसलाई अझ प्रगाढ बनाएर लैजाने, विगतमा लागू भएका आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने मूल मन्त्रलाई सार्थकरुपले अगाडि बढाउने, देशको बेरोजगारी समस्यालाई हटाउन उद्योगधन्दाको विकास गर्ने सकारात्मक सन्देशको अपेक्षा कार्यकर्ताले गरेका भए पनि न उनको दिमागमा यी सकारात्मक विचार आए, न त उनले अभिव्यक्तिको रुपमा प्रकट नै गरे । बरु त्यसको साटो वर्तमानको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ढालेर छोड्नेजस्ता देशघातक भाषण गरेको सुन्न र देख्न पाइयो ।

यी सारा क्रिया–प्रतिक्रिया भइरहँदा कुनै पत्रकार मित्रले सोध्नुभएको प्रश्नको उत्तरमा एक नाम चलेकै राजनीतिक विश्लेषकले फागुन २१ पछिको सरकारको नेतृत्व अरु कसैले नभएर नेकपा एमालेले नै गर्छ भन्ने भनाइ धक नमानी प्रकट गर्दै गरेको सुनिन्थ्यो । यदि त्यही भनाइ साँचो ठहर भएर चुनावपछिको सत्ताको बागडोर नेकपा एमालले नै र उक्त राजनीतिक दलका हालै निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नै गरेका खण्डमा जेन्जी पुस्ता ६ दर्जनभन्दा अधिक सन्तानले दिएको बलिदानी बागमतीको पानीमा बगेर हराउने वा विलिन हुने त होइन ? जेन्जी पुस्ताले भदौ २४ गतेका दिन केपी शर्मा ओलीलाई फेला पारेको भए राम्रै भौतिक कार्यवाही गर्ने थिए भनेर हामी सबैलाई मात्र होइन कि कमरेड केपी ओलीलाई पनि थाहा छ । आज भर्खर पार्टी अध्यक्षको पदमा निर्वाचित भइरहँदा उनले भाषणमा भनेअनुसार गाउँ–गाउँमा युवा दस्ता किन तयार गर्दै छन् ? तिनै जेन्जी पुस्तासँग बदला लिनका लागि होइन त ? मोबाइल पनि बज्न नदिएर ध्यानपूर्वक सुन्दै गरेका र समर्थनमा ताली पिट्दै गरेका सबै मित्रलाई ओलीको भाषणले खुशी तुल्याएकै हो त ? त्यसो भए जन्मभूमि नेपालभन्दा पनि कमरेड ओली महान् हुन त ? नेकपा एमालेले आफू र आफ्नो राजनीतिक दलको सुरक्षाको उद्देश्यले तयार गरेको युवा दस्ता र जेन्जी समूहका सन्तानबीच निकट भविष्यमै भीडन्त हुने हो त ? एउटा व्यक्तिको हठले हुने भीडन्तले देशलाई फाइदा गर्ला त ? देशको अस्तित्व र अस्मिता जोगिएन भने अध्यक्ष कमरेड कुन देशका प्रधानमन्त्री होलान् त ?

हामीले दश वर्ष लामो युद्धको मार भोगिसकेका छौँ । हजारौँको सङ्ख्याका नेपाल आमाका सन्तानको निर्मम बलि चढाइसकेका छौँ । त्यति गर्दा पनि हामीले वा जेन्जी पुस्ताले चाहेको जस्तो भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापित गर्न सकिरहेका छैनौँ । देशको तुलनामा व्यक्ति समुद्रको एक बुँद पानीजस्तै हो ।

प्रजातान्त्रिक शासन व्यवस्था भएको देशमा आ–आफ्ना विचार प्रकट गर्न हरेक व्यक्ति स्वतन्त्र हुन्छ । तर एक्लो रावणको अहंताले लङ्का ध्वस्त भई पतन भएको कुरा सबैलाई विदित नै छ । यहाँ पनि शासन ढाल्ने नाममा होस् कि जेन्जी पुस्ता तह लाउने नाममा, युवा दस्ता तयार गरिन्छ भने त्यो ज्यादै नीच मानसिकताको उपज वा व्यवहार हो ।

प्रजातान्त्रिक शासन व्यवस्था भएको देशमा आ–आफ्ना विचार प्रकट गर्न हरेक व्यक्ति स्वतन्त्र हुन्छ । तर एक्लो रावणको अहंताले लङ्का ध्वस्त भई पतन भएको कुरा सबैलाई विदित नै छ । यहाँ पनि शासन ढाल्ने नाममा होस् कि जेन्जी पुस्ता तह लाउने नाममा, युवा दस्ता तयार गरिन्छ भने त्यो ज्यादै नीच मानसिकताको उपज वा व्यवहार हो । लामो समय शासन सत्ता सम्हालेर बसेका नेकपा एमालेका निर्वाचित वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पनि धेरै शीर्षकमा अनियमित काम गरेर अर्बौं भ्रष्टाचार गरेका कुरा विभिन्न सञ्चारमाध्यमका सूत्रबाट खोलिँदै छन् ।

यदि ती काण्डहरू उदाङ्ग भए भने वृद्धावस्थामा पुगेका कमरेड केपी ओलीले जेलको सजायसमेत भोग्नुपर्ने हुन्छ । त्यति मात्र होइन कि भदौ २४ गतेको जेन्जी पुस्ताको आन्दोलनलाई दबाउने नाममा ६ दर्जनभन्दा बढी युवाहरूको निर्ममताका साथ ज्यान लिन आदेश दिने दोषी शासकका रुपमा पनि उनी चिनिदै छन् । यी सबै काण्डले गर्दा हतास मानसिकतामा बाँच्दै गरेका ओलीले अनेक प्रयासका बाबजुद नेकपा एमालेजस्तो पुरानो राजनीतिक दलको अध्यक्ष पदमा विजयी बनेपछि केही राहत मिलेको र हौसलासमेत बढेको मानसिकताले अलि उत्तेजित अभिव्यक्ति पस्कँदै गरेको पाइन्छ । यदि देश र जनताप्रति सकारात्मक धारणा राख्थे भने गाउँ–गाउँमा वा टोल–टोलमा गठन गरेको युवा दस्तालाई श्रमका काममा लगाउन सक्ने थिए । तर उनी स्वयं र नेकपा एमाले पार्टीका तुलनामा देश उनका लागि केही होइन भन्ने उनका अभिव्यक्ति र व्यवहारले देखाउँदै छन् ।

साँच्चै ती राजनीतिक विश्लेषकले भनेजसरी नै चुनावपछिको शासनको बागडोर कमरेड ओलीले सम्हाल्ने मौका मिलेको खण्डमा उनले विगतको भदौ २४ को घटनालाई बिर्साउने खालका क्रियाकलापसमेत गर्न बाँकी राख्ने छैनन् । देश गृहयुद्धमा फस्नेछ । यो झमेलाले गर्दा देश उन्नतिको हाम्रो सपना कम्तीमा पनि एक शताब्दीपछाडि धकेलिने कुरा निश्चित छ । आज नेकपा एमालेमा आस्था राख्ने सबै महानुभावले ठण्डा दिमागले सोचेर अगाडि बढ्नु जरुरी हुन्छ । चाहे जुनसुकै राजनीतिक दलमा आस्था राखे पनि आफ्ना नेताले गरेका देशघाती कर्मलाई अन्धो ताली पिटेर समर्थन गर्नुृको साटो विरोध गर्न पनि सक्नुपर्छ । त्यसरी नचाहिँदो कामको विरोध गर्ने कार्यकर्ता मात्र देशभक्त र इमानदार कार्यकर्ता हुन्छ । नेतृत्वबाट थोरै व्यक्तिगत लोभमा परेर अन्धसमर्थन गर्ने कार्यकर्ता तथा सदस्यहरु नेताभन्दा पनि बढी देशघातक हुन् । शासकले शासन चलाउने भनेको देश र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर हो । यदि ती दुवैका विरुद्ध गएर शासन चलाउने सपना देख्ने हो भने भदौ २४ गतेको आन्दोलनमा जस्तो भागेर बाँच्न पाउने अवस्था पनि नरहन सक्छ । शासकले लास ठानेको मान्छे पनि जुरुक्क उठेर कुशासनका विरुद्ध खडा हुन सक्छ । यदि त्यसो भयो भने हामीले आँकलन गरेको भन्दा फरक अवस्था सिर्जना हुनेछ ।