राप्रपा उम्मेदवार विवाद: काठमाडौँ– १ मा शोभित उप्रेतीलाई उम्मेदवार बनाउन माग

3.57k
Shares

काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौँ क्षेत्र नम्बर– १ मा पशुपति शमशेर राणा कि रवीन्द्र मिश्र भन्ने विवाद चुलिएको बेला त्यस क्षेत्रका राजनीतिज्ञ, साहित्यकार, कलाकार, पत्रकारहरुको भेलाले समाजसेवी शोभित उप्रेतीलाई उम्मेदवार बनाउनु पर्ने माग गरेका छन् । 

काठमाडौँ क्षेत्र नम्बर– १ मा लामोसमयदेखी बसोबास गर्दै आएका स्थानीय समाजसेवी शोभित उप्रेती पार्टीको सर्वसम्मत उम्मेदवार हुनुपर्ने उनीहरुको माग छ । उप्रेती राप्रपाको केन्द्रीय सह– कोषाध्यक्ष समेत हुन् ।

राप्रपा काठमाडौँ क्षेत्र नम्बर– १ क्षेत्रीय समितिले पुस १ गते फागुन २१ को निर्वाचनको लागि प्रत्यक्ष तर्फ पार्टीको वरिष्ठ नेता पशुपति शमशेर राणा, समाजसेवी एवम् पार्टीको सह– कोषाध्यक्ष शोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई सिफारिस गरेको जनाएको थियो थियो । 

लगत्तै  राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि काठमाडौँ क्षेत्र नम्बर– १ बाट आफ्नो नाम सिफारिस भएको बताएका थिए । मिश्रको उक्त दावि सामाजिक सञ्जाल तथा बिभिन्न मिडियामा आएपछि राप्रपा काठमाडौँ क्षेत्र नम्बर– १ क्षेत्रीय समितिको बैठकले त्यसको खण्डन गर्दै काठमाडौँ क्षेत्र नम्बर– १ बाट पशुपति शमशेर राणा, शोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम सिफारिस गरिएको जनाएको थियो । 

शनिवार काठमाडौँ क्षेत्र नम्बर– १ का अगुवा राजनीतिज्ञ, समाजसेवी, कलाकार, साहित्यकार तथा पत्रकारहरुको भेलाले वरिष्ठ नेता पशुपति शमशेर राणाले आफू  उक्त क्षेत्रबाट उम्मेदवार नहुने बताएकोले समाजसेवी एवम् काठमाडौँ क्षेत्र नम्बर– १ को स्थानीय शोभित उप्रेतीलाई सर्वसम्मत उम्मेदवार बनाउनु पर्ने माग गरेको हो । 

बानेश्वर एकता समाजका अध्यक्ष चमन कोइरालाको सभापतित्वमा सम्पन्न भेलामा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकार राधेश्याम लेकाली, अगुवा समाजसेवी विनोद दवाडी, रीना वली शाही, राप्रपाका क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठ, राप्रपा नेता नवीन शाही लगायतको सहभागिता रहेको थियो ।