‘असोज मसान्तभित्रै पञ्चाङ्ग पात्रो प्रकाशित गर्छौं’

1.97k
Shares

 काठमाडौं

आगामी वर्षदेखि असोज मसान्तभित्रै पञ्चाङ्ग पात्रो प्रकाशित गर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य–सचिव आचार्य लक्ष्मण पन्थीले बताउनुभएको छ ।  

शनिबार होटल पौवा पिङ्गलास्थान, काठमाडौंमा आयोजित राष्ट्रिय ज्योतिष सम्मेलन–२०८२ लाई सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो ।

‘२०८३ सालको पञ्चाङ्ग पात्रोको काम तीव्र रूपमा भइरहेको छ । धेरै जनाले फोन नै गरेर कहिले पात्रो बजारमा आउँछ भनेर जिज्ञासा राखेका छन्’, पन्थीले भन्नुभयो– ‘पञ्चाङ्गकारहरूले सहयोग गर्ने हो भने प्रत्येक वर्ष असोज मसान्तभित्रै बजारमा पात्रो आउँछ ।’ चाडपर्व, तिथिश्राद्ध, विवाह–व्रतबन्ध कहिले पर्छ भन्ने जिज्ञासा बढी आउने गरेको उहाँको कथन छ । 

पञ्चाङ्गकार तथा ज्योतिषी संघ–संस्थासँग सहकार्य गरेर आफूले कार्य गरिरहेको बताउँदै सबै ज्योतिषलाई प्यानमा आफ्नो संस्था दार्ता गरेर मात्रै ज्योतिषको कार्यालय खोल्न पन्थीले आग्रह पनि गर्नुभएको छ । साथै, ७७ वटै जिल्लामा प्रतिक्षात्मक कार्यक्रम गर्न लागेको र पहिलो चरण प्रदेशस्तरीय कार्यक्रम आयोजना गर्न लागेको पनि उहाँले बताउनुभएको छ ।

विश्व ज्योतिष महासंघ राष्ट्रिय समितिले आयोजना गरेको सो कार्यक्रममा प्राध्यापक श्रीकृष्ण अधिकारी, डा. लोकराज पौडेल, माधवराज पाण्डे,  विष्णुदत्त लेखक, रतिदेवी श्रेष्ठ भारतबाट आएका ज्योतिष अशोक मिश्र लगायतले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नेपालका ७७ वटै जिल्लाका २ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए ।