त्रिवेणी कप सुरु, एपिएफको ५–० को शानदार जित

2.07k
Shares

लमजुङ। 

लमजुङ सदरमुकाम बेसीशहरस्थित सहजी खेलमैदानमा जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शनिबार गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लमजुङ जिल्ला आफैंमा फुटबललाई माया गर्ने जिल्लाको रुपमा परिचित रहेको बताए । गाउँगाउँमा फुटबल खेलिने संस्कारले यहाँको खेलकुद संस्कृति बलियो बनेको उनको भनाइ थियो । त्रिवेणी कपको सुरुवाती दिन सम्झँदै उनले भैलो खेलेर उठाइएको पैसाबाट प्रतियोगिता संचालन गरिएको स्मरण गरे । अहिले त्यो अभियान ठूलो प्रतियोगितामा रुपान्तरण हुनु गर्वको विषय भएको बताउँदै उनले खेलकुदले युवालाई अनुशासित, ऊर्जावान र सकारात्मक दिशातर्फ डोर्याउने बताए । 

सोही कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिका प्रमुख गमान सिंह अर्यालले त्रिवेणी कपले लमजुङको खेलकुद पहिचानलाई अझ मजबुत बनाएको बताए । नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै पूर्वाधार र प्रतियोगितामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा बेसीशहर नगरपालिका–८ का वडा अध्यक्ष पवित्र थापा राना, क्लबका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव कृष्णबहादुर अधिकारी लगायतले मन्तव्य राख्दै प्रतियोगिताको सफलताको कामना गरेका थिए ।

कार्यक्रम त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजंग गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको हो। । कार्यक्रमको संचालन क्लबका पूर्व अध्यक्ष विनोद गुरुङले गरेका थिए । 

त्रिवेणी कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले सुन्दरबजार फुटबल क्लबलाई शून्यका विरुद्ध ५ गोलले पराजित गर्दै फराकिलो जित निकालेको छ । खेलको सुरुदेखि नै एपिएफले दबाब कायम राख्दै एकतर्फी प्रदर्शन गरेको थियो ।

खेलको २०औँ मिनेटमा एपिएफका जर्सी नम्बर ७ समिर थोकरले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि ३०औँ मिनेटमा समिर थोकरले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको ३७औँ मिनेटमा एपिएफका जर्सी नम्बर ७७ का खेलाडीले अर्को गोल थपेपछि एपिएफ ३–० को बलियो अवस्थामा पुग्यो ।

दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै एपिएफका जर्सी नम्बर २३ मनि लामाले गोल गरे । त्यसपछि खेलको २५औँ मिनेटमा जर्सी नम्बर ७ समिर थोकरले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । एपिएफको सशक्त आक्रमण र संगठित खेलका अगाडि सुन्दरबजार फुटबल क्लब गोल गर्न असफल रहँदा एपिएफले पहिलो खेलमै स्पष्ट जित दर्ता गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ ।

फुटबल प्रतियोगिताको विजेता टिमले १२ लाख रुपैयाँ नगदसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेता टिमलाई ६ लाख रुपैयाँ नगदका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले क्लबका अध्यक्ष टेक जंग गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलबाट छनोट हुने ‘म्यान अफ दि म्याच’ ले १० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा ६ आमन्त्रित र १० खुला गरी कुल १६ टिमको सहभागिता रहेको छ ।