जेनजी आन्दोलनमा खरानी बनेको काठमाडौँ प्रशासन बन्यो देशकै उत्कृष्ट सेवा केन्द्र

प्रमुख जिल्ला अधिकारी पौडेल बने  ‘रोलमोडल’ सिडिओ


 –अब डिजिटल गर्भनेन्स अन्तर्गत टोकन सहितको  स्मार्ट सेवा

–पब्लिक अनाउन्समेन्ट सिस्टम(पीएएस) लागू 

–टोकनबाट हुन्छ सबै काम , सेवाग्राहीलाई सुविधै सुविधा 

–काठमाडौँ  प्रशासनबाट अन्य कार्यालयले प्रेरणा लिनुपर्छ : गृहमन्त्री अर्याल

–अब सेवाग्राहीसँगै कर्मचारीहरु खटिनेछन्  स्कर्टिङमा 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी खरानी बनेको जिल्ला प्रशासन कार्यालय काठमाडौँ ३ महिना भित्रै ‘रोलमोडल’ प्रशासन कार्यालयको रुपमा स्थापित हुन सफल भएको छ । 

काठमाडौँ  प्रशासनले सेवा प्रवाह प्रभावकारी बनाई सुशासन कायम गर्ने उद्देश्यले टोकन सहितको स्मार्ट डिजिटल सेवाको थालनी गरेको छ । जसलाई पब्लिक अनाउन्समेन्ट सिस्टम (पी.ए.एस) नाम दिइएको छ । भदौ २३ र २४ को आन्दोलनमा आन्दोलनकारीको  मुख्य तारोमा परी खरानी बनेपछि यो कार्यालयले झण्डै डेढ साता सम्म कुनै पनि सेवा प्रवाह दिन सकेको थिएन । जब प्रमुख जिल्ला अधिकारीको रुपमा ईश्वरराज पौडेल गए  त्यसपछि उनले अहोरात्र खटेर कार्यालयको सेवा सुचारु गर्दै ३ महिना भित्रै मुलुकका ७७ वटा जिल्ला प्रशासन कार्यालय मध्ये सबैभन्दा उत्कृष्ट र रोलमोडल प्रशासन कार्यालयको रुपमा स्थापित गराउन सफल भएका हुन् । 

 देशभरका ७७ जिल्ला प्रशासन कार्यालय मध्ये काठमाडौँ  प्रशासन टोकन सहितको स्मार्ट डिजिटल सेवा प्रवाह गर्ने पहिलो प्रशासन कार्यालय बनेको छ ।  पौडेल प्रमुख जिल्ला अधिकारी भएर आएपछि उनकै योजना र भिजन अनुसार टोकन सहितको स्मार्ट सेवा प्रणाली तथा ‘पब्लिक अनाउन्समेन्ट सिस्टम’ लागु भएको हो ।

 काठमाडौँ प्रशासन कार्यालयले शुक्रवारदेखि नै सो आधुनिक र डिजिटल सेवा सुरु गरेको छ । सो सेवाको शु्क्रबार  एक कार्यक्रमकाबीच गृह मन्त्री ओमप्रकाश अर्यालले शुभारम्भ गरे । सो डिजिटल सेवाको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले जेनजीको सुशासन र सेवा प्रवाह प्रभावकारी बनाउने चाहना अनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्दै टोकन सहितको डिजिटल सेवा सुरु  गरी आफूलाई रोलमोडल सिडिओको रुपमा स्थापित गर्न सफल हुनुभएको बताए । गृहमन्त्री अर्यालले देशभरका  ७७ वटा जिल्ला प्रशासन कार्यालय मध्ये काठमाडौँ प्रशासन कार्यालय सेवा प्रवाह प्रभावकारी बनाई सुशासन कायम गराउने पहिलो प्रशासन कार्यालय बन्न सफल भएको भन्दै खुसी व्यक्त गरे । 

गृहमन्त्री अर्यालले काठमाडौँ जिल्ला प्रशासन र प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रोलमोडल सिडिओको रुपमा स्थापित हुन सफल भएको  उल्लेख गर्दै काठमाडौँ प्रशासनको सिको अरु सबै प्रशासन कार्यालयले गर्नुपर्ने आवश्यकता औँल्याए । ‘हामीले सेवा प्रवाह प्रभावकारी बनाएर सुशासन दिन सकेनौ भने मुलुक झनै कठिन अवस्थामा पुग्न सक्छ त्यसैले देशभरका सबै सरकारी कार्यालयले काठमाडौँ प्रशासनको जस्तै डिजिटल र प्रभावकारी सेवा दिन सक्नुपर्छ । ’गृहमन्त्री अर्यालले भने । 

 सो शुभारम्भ कार्यक्रममा बोल्दै गृहसचिव रामेश्वर दंगालले जेनजी आन्दोलनका क्रममा खरानी बनेको काठमाडौँ प्रशासन कार्यालयले यति छोटो समयमा नै धूलोबाट उठेर स्मार्ट र डिजिटल सेवा दिन सफल भएको र यसले नागरिकको सुशासन र सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने चाहनामा ठुलो सहयोग पुगेको बताए । काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अहोरात्रको खटाई , योजना र त्यसलाई व्यवहारका कार्यान्वयन गर्न सक्ने उत्कृष्ट क्षमताका कारण यो सम्भव भएको गृहसचिव दंगालले स्पष्ट पारे । जेनजीको आन्दोलनले सुशासन र प्रभावकारी सेवा प्रवाह खोजेको बताउँदै सचिव दंगालले काठमाडौँ प्रशासन जेनजीको सो चाहना अनुसार अघि बढ्न सफल भएको र देशका अन्य सबै सरकारी कार्यालयले पनि यस्तै प्रकारको सेवा दिनुपर्ने आवश्यकता औँल्याए । 

  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जनतालाई केन्द्रविन्दुमा राखेर  काठमाडौँ प्रशासनले नागरिकलाई झ्यालमा घण्टौ  उभिएर सेवा दिने युगको अन्त्य गरेको बताए । उनले देशका सबै सरकारी कार्यालयले यसैप्रकारको प्रविधिमा आधारित सेवा दिन सकेमा जेनजीको आन्दोलनले माग गरे अनुसार सुशासन कायम हुन सक्ने र सेवा प्रवाह प्रभावकारी हुन सक्ने विश्वास व्यक्त गरे । सो कार्यक्रममा डिजिटल र स्मार्ट सेवा सहितको पब्लिक अनाउन्समेन्ट सिस्टम लागू गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवा र इन्जिनियर प्रमोद शर्मालाई सम्मान गरिएको थियो । 

जनताले अब यसरी पाउनेछन् सहज सेवा 

पब्लिक अनाउन्समेन्ट सिस्टम अन्तर्गत काठमाडौँ  प्रशासन कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले सबैभन्दा पहिला पहिलो चरणमा आफूले लिन चाहेको कुन  सेवा हो त्यस सम्बन्धी टोकन लिन्छ । टोकन लिएलगत्तै त्यो सेवा सञ्चालन गर्ने शाखामा त्यसको जानकारी पुग्छ अर्थात् उसको सो काम कार्यालयको सिस्टममा प्रवेश गर्छ । त्यसको केही समयमा नै सो शाखाका कर्मचारीहरुले सो काम सम्पन्न हुन के कति समय लाग्छ त्यसको जानकारी सेवाग्राहीलाई दिन्छन्  र केहि समय धैर्य गरेर बस्न आग्रह गर्छन् । त्यस समयमा सेवाग्राहीलाई बस्नका लागि कार्यालयले राम्रो प्रवन्ध गरेको छ । जहाँ  वाईफाई र टेलिभिजनको समेत सुविधा रहेको छ। 

 सेवाग्राहीलाई पानीको समेत व्यवस्था गरिनेछ । त्यसपछि तेस्रो चरणमा  सो सिस्टममा ती सेवाग्राहीलाई त्यस अघि दिइएको समय सकिएपछि काम सम्पन्न भएको जानकारी दिइन्छ र आवश्यक सनाखत गर्न बोलाइन्छ । यी सबै काम सम्पन्न गराउन कार्यालयकै केही कर्मचारीलाई स्कर्टिङमा समेत खटाइने गरिएको छ । प्रजिअ पौडेलका अनुसार यो सिस्टम सुरु भएलगत्तै अब  सबै प्रकारका सेवाग्राहीले समयमा नै सेवा पाउने, सेवा प्रवाह गर्दा प्रविधिको उच्चतम प्रयोग हुने , कार्यालयको कुशल व्यवस्थापन हुने, भीड र लाइन लाग्नुपर्ने परम्पराको अन्त्य हुनुका साथै  सबै कर्मचारीको तत्परतामा उच्च कोटिले सुधार आउनेछ ।