हामी कसैका कार्यकर्ता होइनौं, एकीकरणका अभियन्ता हौं: सुदन गुरुङ


काठमाडौँ।

जेन-जीका अगुवा एवं हामी नेपालका संस्थापक सुदन गुरुङले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बेला, आफू कुनै पनि राजनैतिक दलमा संलग्न नभएको स्पष्ट पारेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत गुरुङले राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राख्दै सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै डालोमा ल्याउनका लागि एकीकरण अभियान चलाइरहेको जानकारी दिए।

“सत्ता, पद र व्यक्तिगत प्रसिद्धीबाट हामी कहिल्यै आकर्षित भएका छैनौं, र भविष्यमा पनि हुने छैनौं,” गुरुङले भने। उनले आफू र आफ्ना टोलीका सदस्यहरू सत्ताको सपना देखेर काम नगरी, जनताको बलिदान र इच्छालाई प्राथमिकता दिने बताएका छन्।

गुरुङले जेन-जीका शहिदहरूको बलिदानलाई सम्झाउँदै भने, “हाम्रो दाजुभाइ र दिदीबहिनीहरूको बलिदानमा उभिएर सत्तामा पुग्ने सपना देख्ने राजनैतिक शक्तिहरूलाई चेतावनी दिन चाहन्छु। जेन-जीको जनादेश, साहसी युवाहरूको नेतृत्व र सहिद/घाइतेहरूको बलिदानलाई मात्र हामी स्वीकार गर्नेछौं।”

पछिल्लो समय, गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतका नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकता प्रयास गर्दै आएका छन्।