समानुपातिक उम्मेदवारको बन्दसूची समयमै पेस गर्न राजनीतिक दलहरुलाई आयोगको आग्रह


काठमाडौँ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची पेस गर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम समानुपातिक प्रणालीअन्तर्गतको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

निर्धारित कार्यक्रमअनुसार राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची माघ १३ र १४ गते दुई दिन अपराह्न ४ बजेसम्म कार्यालय समयभित्र आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन दर्ता भएका दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन नियमावली, २०७४ तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ ले तोकेको विधि, प्रक्रिया र आवश्यक कागजात पूरा गरी बन्द सूची तयार गर्नुपर्ने आयोगले जनाएको छ।

निर्धारित समय सीमाभित्र मात्र बन्द सूची पेस गर्नुपर्ने र समयपछि पेस गरिने सूची स्वीकार नहुने आयोगले स्पष्ट पारेको छ । साथै निर्वाचन कार्यक्रमअनुसार बन्द सूची पेस गरिएको वा नगरिएको विषय सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न पनि आयोगले राजनीतिक दललाई अनुरोध गरेको छ।