प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री कार्की


काठमाडौँ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शनिबार ) प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार छलफल दिउँसो ३ बजे बालुवाटारमा हुने छ ।
सरकारले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा प्रमुख तीन दलका नेतासँग छलफल गर्न लागेको हो ।

यसअघि शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै नेतालाई छुट्टाछुट्टै भेटघाट गरेका थिए ।

केही दिन पहिले राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरता स्वरूप प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।