नरदेवी चिकित्सालय र सिंहदरबार वैद्यखानाको स्थलगत निरीक्षण; ‘राष्ट्रिय औषधीजन्य वनस्पति प्राधिकरण’ स्थापना गरिने उद्घोष
काठमाडौँ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई आधुनिक स्वास्थ्य प्रणालीको अभिन्न अङ्गका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । शुक्रबार काठमाडौँको नरदेवीस्थित आयुर्वेद चिकित्सालय र सिंहदरबार वैद्यखाना विकास समितिको स्थलगत निरीक्षण तथा अनुगमन गर्दै मन्त्री शर्माले स्वदेशी जडीबुटीमा आधारित उपचार पद्धतिलाई नागरिकको घरदैलोसम्म पुर्याउन सरकार लागिपरेको बताइन् ।
नरदेवीमा सेवा विस्तार र अनुसन्धानमा जोड
निरीक्षणका क्रममा सुरुमा नरदेवी पुगेकी मन्त्री शर्माले अस्पतालको बहिरङ्ग (OPD), अन्तरङ्ग (In-patient), प्रयोगशाला, शल्यक्रिया कक्ष, पञ्चकर्म तथा एक्युपङ्क्चर विभागको सूक्ष्म अवलोकन गरिन् । सो अवसरमा अस्पतालका निर्देशक डा. बासुदेव जनार्दन उपाध्यायले अस्पतालको ऐतिहासिक महत्त्वबारे चर्चा गर्दै जनशक्तिको अभाव र भौतिक पूर्वाधारका चुनौतीका बारेमा मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
मन्त्री शर्माले नरदेवीलाई आयुर्वेदको ‘सेन्टर अफ एक्सीलेन्स’ का रूपमा विकास गर्नुपर्ने बताउँदै भनिन्, “हामी केवल उपचारमा मात्र होइन, प्रमाणमा आधारित (Evidence-based) आयुर्वेद चिकित्साको अनुसन्धानमा केन्द्रित हुनुपर्छ । समुदायस्तरमा योग र स्वस्थ जीवनशैली लैजान अस्पतालको भूमिका अग्रणी हुनुपर्छ ।”
वैद्यखानाको पुनर्संरचना र प्राधिकरणको तयारी
नरदेवी पश्चात् सिंहदरबार वैद्यखाना पुगेकी मन्त्री शर्मालाई कार्यकारी निर्देशक डा. प्रदीप केसीले संस्थाको आर्थिक अवस्था र उत्पादनमा देखिएका अवरोधबारे जानकारी गराए । मन्त्रीले वैद्यखानाको ऐतिहासिक रसशाला, च्यवनप्राश पाकशाला र औषधि भण्डारणको निरीक्षण गर्दै मन्त्रालयले संस्थाको पुनर्संरचनाका लागि ठोस कदम चाल्ने आश्वासन दिइन् ।
सोही क्रममा उनले आयुर्वेदिक औषधीको दिगो उपयोग र मूल्य अभिवृद्धिका लागि ‘राष्ट्रिय औषधीजन्य वनस्पति प्राधिकरण’ स्थापना गर्ने सरकारको योजना रहेको खुलासा गरिन् । “हाम्रा बहुमूल्य जडीबुटीहरू त्यसै खेर गइरहेका छन्,” उनले भनिन्, “आफ्नै जडीबुटी उद्यान विकास गर्ने र रणनीतिक स्थानहरूमा बिक्री काउन्टर थपेर औषधिको सहज उपलब्धता सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो ।”
स्वास्थ्यकर्मीलाई प्रोत्साहन, सेवाग्राहीसँग संवाद
निरीक्षणका क्रममा मन्त्री शर्माले उपचाररत बिरामी र तिनका आफन्तहरूसँग प्रत्यक्ष कुराकानी गरी सेवाको गुणस्तरबारे सोधपुछ गरेकी थिइन् । उनले सीमित स्रोत–साधनका बाबजुद स्वास्थ्यकर्मीहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै कर्मचारीको वृत्ति विकास र क्षमता अभिवृद्धिका लागि मन्त्रालयले आवश्यक बजेट तथा नीतिगत सहयोग गर्ने बताइन् ।
ऐतिहासिक महत्त्वका पुराना यन्त्र तथा औजारलाई संग्रहालयका रूपमा सुरक्षित राख्दै प्रविधिलाई समयसापेक्ष सुधार गर्न मन्त्रीले सम्बन्धित निकायलाई निर्देशनसमेत दिएकी छन् ।











प्रतिक्रिया