काठमाडौँ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न समयमा चोरी भएका ६० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ ओटा मोटरसाइकल र २६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, टोखा, नयाँबसपार्क,बालकुमारी,भाटभटेनी भक्तपुर, लोकन्थली, नाला, बनेपा, बसन्तपुर, किर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट,सोह्रखुट्टे, कपन,सुडाल र जरङ्खु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका ६० ओटासहित १८१ ओटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका १३ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ। । सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन् ।











प्रतिक्रिया