लागूऔषध मुद्दामा कैद भुक्तान गर्दै गरेका फरार युवक पुनः लागूऔषधसहित पक्राउ


काठमाडौं।

लागूऔषध मुद्दामा पुर्पक्ष कैद सजाय भुक्तान गरिरहेका एक युवक कारागारबाट फरार भई पुनः लागूऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका छन्।

सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका–१० बस्दै आएका २६ वर्षीय राहुल तामाङलाई प्रहरीले काठमाडौंको बलम्बु क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार तामाङ लागूऔषध मुद्दामा सजाय भुक्तान गर्दै भदौ ५ गतेदेखि कारागार कार्यालय सिन्धुलीमा कैद भुक्तान गरिरहेका थिए। तर, भदौ २४ गते भएको प्रदर्शनका क्रममा उनी कारागारबाट फरार भएका थिए।

फरार तामाङ पुनः लागूऔषधको बिक्रि–वितरणमा संलग्न रहेको विशेष सूचना पाएपछि प्रहरी टोली खटिएको थियो। सोही सूचनाका आधारमा पुस १०गते बिहीबार चन्द्रागिरी नगरपालिका–१० बलम्बुबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका तामाङको साथबाट प्रहरीले विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ।
• डायजेपाम इन्जेक्सन (5mg/2ml) – १५ थान
• प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन (25mg/2ml) – १८ थान
• बुप्रेनोर्फिन इन्जेक्सन (0.3mg/2ml) – १७ थान
• ट्रामाडोल क्याप्सुल (50mg) – ८ हजार २ सय ९० थान

पहिले पनि पटक–पटक मुद्दा

प्रहरी अनुसन्धानबाट तामाङविरुद्ध यसअघि पनि पटक–पटक लागूऔषध मुद्दा दर्ता भएको खुलेको छ।
• मिति २०७८ साउन २९ गते प्रहरी वृत्त थानकोटमा लागूऔषध मुद्दा
• मिति २०८२ असार १३ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पुनः लागूऔषध मुद्दा दर्ता भएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

प्रहरीले लागूऔषध कारोबारमा संलग्न नेटवर्कबारे पनि थप अनुसन्धान भइरहेको जनाएको छ।