विदेश पठाउने नाममा २६ लाख ठगी, दुई जना पक्राउ


काठमाडौं ।

आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा विदेश पठाउने बहानामा रकम असुली गरी सम्पर्कविहीन बनेका प्रतिवादीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–४ स्थायी घर भएकी ३७ वर्षीया ममता श्रेष्ठ रहेकी छन्। उनले क्यानडा पठाइदिने भन्दै दुई जना पीडितबाट २३ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई बिहीबार चन्द्रागिरि नगरपालिका–४ बाट पक्राउ गरिएको हो।

त्यसैगरी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ स्थायी घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्दै आएका ३० वर्षीय सरोज पोख्रेल पनि पक्राउ परेका छन्। उनले युएई पठाइदिने भन्दै पीडितबाट ३ लाख ६४ हजार रुपैयाँ लिएको आरोप छ।

प्रहरीका अनुसार दुबै घटनामा पीडितहरू लामो समयसम्म विदेश पठाइने आश्वासनमा बस्न बाध्य भएका थिए। तोकिएको समयसम्म विदेश नपठाइएपछि सम्पर्कविहीन बनेपछि पीडितहरूले जाहेरी दिएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी देखिए कानुनअनुसार कारबाही अघि बढाइने वैदेशिक रोजगार विभागले जनाएको छ।