परानले ३० भन्दा बढी हलमा मनायो ५१ औं दिन

बन्यो सर्वाधिक कमाइ गर्ने चौथो फिल्म


३० भन्दा बढी हलमा प्रदर्शनको ५१औं दिन पूरा गरेको छ।
परान अझै पनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ। शनिबार ३० बढी शो दिइएको परानले आइतबार केही कम हल पाएको छ। यद्यपि कतिपय हलमा अहिले पनि हाउसफुलका साथ प्रदर्शन भइरहेको छ। शनिबार ललितपुरको लबिम मलको हल हाउसफुल रह्यो। साथै पश्चिमका केही हलमा पनि दर्शकको राम्रो उपस्थिति पाइएको छ। उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँ बसपार्क, नयाँ बानेश्वरमा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ। यस्तै उपत्यकाबाहिर नेपालगञ्ज, दाङ, बुटवल, चितवन, इटहरीजस्ता सहरहरूमा पनि दर्शकको संख्या राम्रो पाइएको छ।

सो अवसरमा परान टिमले बूढानीलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गरेको छ। फिल्मका निर्माता रञ्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा वृद्धवृद्धाका लागि न्यानो कपडा वितरण गरिएको छ। निर्माता आचार्यले आगामी साता अर्को एक विशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केही विशेष घोषणा पनि गरिने जानकारी गराए।

पवित्र समाजसेवा नेपाल आश्रमकी सञ्चालिका दीक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन्। उनले केही साताअघि आप्mना आश्रममा आश्रित बालबालिकालाई परान देखाएकी थिइन्। चापागाईंले छोराछोरी र आमाबुबाप्रतिको प्रेमलाई फिल्मले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि सो फिल्म देखाएकी बताएकी थिइन्। चलचित्रका निर्देशक दीपकप्रसाद आचार्य ५१ दिनसम्म पनि परानलाई दर्शकले दिएको मायाप्रति आभार व्यक्त गरे। उनले यो मायाले आफूलाई थप जिम्मेवारी बनाएको बताए।

बाइस्कोप सिनेमाको ब्यानरमा निर्मित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रवीण खतिवडा, बुद्धि तामाङलगायतले अभिनय गरेका छन्। निर्माता रञ्जित आचार्यले परानले ५१ दिन पूरा गर्दा १८ करोड रुपिया“ ग्रस कलेक्सन गरेको जानकारी गराए। यीसंगै परानले नेपाली फिल्मको व्यावसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्मसमेत बनेको छ।