लघुवित्तको कर्जा नतिर्नेमाथि कडा हुँदै राष्ट्र बैंक

ऋण मिनाहा भ्रममा नपर्न राष्ट्र बैंकको आग्रह


काठमाडौँ।

लघुवित्तको कर्जा नतिर्नेमाथि राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुने भएको छ । लघुवित्तसँग लिएको कर्जा सर्वसाधारण नागरिकले बैंकमा जम्मा गरेको निक्षेप भएको हुनाले कडाइका साथ असुल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको हो ।

पछिल्लो समय २० लाखमुनिको कर्जा मिनाहा गर्ने भन्दै केही समूहले नागरिकलाई उचाली रहेका बेला राष्ट्र बैंकले भने अनिवार्य रूपमा रकम असुल गर्नुपर्ने जनाएको छ । राष्ट्र बैंकको प्रवक्ता गुरुप्रसाद पौडेलले लघुवित्तले कर्जा लगाएको रकम सर्वसाधारण नागरिकले बैंकमा जम्मा राखेको रकम भएको हुनाले लघुवित्तको कर्जा नतिर्ने ऋणीलाई नियमअनुसार कालो सूचीमा राखिने बताउनुभयो । उहाँले कुनै पनि हालतमा कर्जा मिनाहा नहुने भएको हुनाले सर्वसाधारण भ्रममा नपर्न आग्रह गर्नुभयो ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार वास्तविक समस्या परेका, प्राकृतिक विपत्ति वा आर्थिक संकटका कारण किस्ता तिर्न नसकेका ऋणीलाई भने पुनर्संरचना, समयावधि थपजस्ता सहुलियत उपलब्ध गराइनेछ । तर, कर्जा लिएर अन्यत्र लगानी गर्ने, ऋण तिर्न आनाकानी गर्ने र संस्थालाई दबाबमा पार्ने गतिविधि सह्य नहुने स्पष्ट सन्देश दिइएको छ ।

२०८१ असार मसान्तमा कायम रहेका कुल ५२ लघुवित्त वित्तीय संस्था रहेको राष्ट्र बैंकले जनाएको छ । २०४६ को प्रजातन्त्र पुनर्वहालीपछि लघुवित्त आन्दोलनको रूपमा विकास र विस्तार भएको थियो । २०४७ सालदेखि विपन्न वर्गमा कुल कर्जाको ३ प्रतिशतमा कर्जा लगानी गर्ने व्यवस्था सुरु भयो । २०४८ सालमा गैरसरकारी संस्था र निजी क्षेत्रबाट लघुवित्त कार्यक्रमको सुरुवात भयो । नेपालमा लघुवित्तको सुरुवात गर्ने श्रेय डा. हरिहरदेव पन्तलाई जान्छ जो त्यतिबेला नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर थिए । सुरुवाती अवस्थामा लघुकर्जा भनेर कार्यक्रम सुरु गरिएको थियो । पछि, लघुवित्त भन्न थालियो । सरकारी स्तरबाट ग्रामीण बैंक र निजी क्षेत्रबाट गैरसरकारी संस्थाहरूबाट सुरुवात भएको लघुवित्त कार्यक्रम पछि लघुवित्त विकास बैंक प्रवर्धन गरी सोही बैंकमार्फत कार्य सुरु गर्न थालियो ।

के हो लघुवित्त ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विनाधितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत संकलन गर्ने संस्थालाई लघुवित्त भन्दछन् ।

लघुवित्तका फाइदा के कस्ता छन् ?

१.वित्तीय पहुँच विस्तार

बैंक तथा वित्तीय संस्थामा पहुँच नपुगेका गरिब, महिला, साना व्यवसायी र ग्रामीण समुदायले लघुवित्तमार्फत सजिलै कर्जा तथा बचत सेवा पाउँछन् ।
आत्मरोजगार र उद्यमशीलता विकास

सानो पुँजी अभावका कारण व्यवसाय गर्न नसकेकाहरूले लघुवित्त कर्जाबाट कृषि, पशुपालन, व्यापार, सीपमूलक काम सुरु गर्न सक्छन्, जसले रोजगारी सिर्जना गर्छ ।

गरिबी न्यूनीकरणमा सहयोग

आयआर्जनका गतिविधिमा लगानी बढ्दा परिवारको आम्दानी वृद्धि हुन्छ, जसले दीर्घकालमा गरिबी घटाउन मद्दत पु¥याउँछ ।

महिला सशक्तीकरण

लघुवित्त कार्यक्रमहरूमा महिलाको सहभागिता उच्च हुन्छ । आर्थिक रूपमा सक्षम भएपछि महिलाको निर्णय क्षमता, सामाजिक हैसियत र आत्मविश्वास बढ्छ ।

बचत संस्कारको विकास

लघुवित्त संस्थाले नियमित बचत गर्न प्रोत्साहन गर्छन्, जसले आर्थिक अनुशासन र भविष्यका लागि सुरक्षा निर्माण गर्छ ।

सामाजिक समावेशीकरण

दलित, आदिवासी, जनजाति तथा पिछडिएका वर्गलाई वित्तीय प्रणालीमा समेटेर सामाजिक समानता बढाउन सहयोग पु¥याउँछ ।

स्थानीय अर्थतन्त्र सुदृढीकरण

स्थानीय स्तरमै पुँजी परिचालन हुँदा गाउँ–समुदायमा आर्थिक गतिविधि बढ्छ र आन्तरिक अर्थतन्त्र चलायमान हुन्छ ।

साना जोखिममा ठूलो प्रभाव

सानो कर्जा भए पनि सही सदुपयोग भएमा त्यसले ठूलो आर्थिक र सामाजिक परिवर्तन ल्याउन सक्छ । यसरी, लघुवित्त केवल कर्जामात्र नभई आर्थिक समावेशीकरण र दिगो विकासको प्रभावकारी माध्यम हो ।