कार्यान्वयनमा उदासीनता
–उल्लङ्घन गर्नेलाई हुँदैन कारबाही
–बर्खास्तसमेतको व्यवस्था निष्क्रिय
–आचरण पालना नहुँदा कुशासन बढ्दो
काठमाडौं।
स्थायी सरकारको रूपमा रहेको निजामती कर्मचारीहरू आचरणयुक्त, नैतिकवान र इमानदार बन्न नसक्दा मुलुकमा सुशासन कायम हुन नसकेको त्यसका कारण विकास र समृद्धि सुस्त भएको पाइएको छ । यसो त सरकारले कानुनी रूपमा नै निजामती कर्मचारीले पालना गर्नुपर्ने विभिन्न आचरणहरूसम्बन्धी व्यवस्था गरे पनि त्यसको कार्यान्वयन र पालना हुन नसक्दा सुशासनको अवस्था कमजोर देखिएको हो । जेन–जी आन्दोलनले मुलुकमा सुशासनको माग गरे पनि आम कर्मचारीहरूले अझै पनि सुशासन कायम गर्न आफ्नो आचरण सुधारमा ध्यान दिन सकेका छैनन् ।
ऐन नियममा कर्मचारीहरूको आचरण सुधारका लागि निकै राम्रा र सुन्दर व्यवस्था गरिएका छन् । तर, ती व्यवस्थालाई अधिकांश कर्मचारीले बेवास्ता गर्ने गरेका छन् । निजामती सेवा ऐनको दफा ७ मा आचरणसम्बन्धी विभिन्न १४ वटा व्यवस्था गरिएको छ । यस्तै, निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ मा निजामती कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण, पेशागत आचरण र व्यक्तिगत आचरणसम्बन्धी विभिन्न व्यवस्था गरिए पनि कर्मचारीले ती अधिकांश आचरणको पालना गर्न नसकेको सरोकारवालाको गुनासो छ । आम सेवाग्राहीले पनि कर्मचारीबाट असल आचरणको अनुभूत गर्न नसकेको गुनासो गर्ने गर्छन् । त्यसैले पनि कर्मचारी प्रशासन जनप्रिय बन्न सकेको छैन ।
निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली २०६५ मा कर्मचारीले कार्यालय समयमा बाहिरको काम गर्न नहुने, कार्यालयको सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने, काम कारबाहीमा निष्पक्षता कायम गर्नुपर्ने, व्यापार व्यवसाय गर्न नहुने, राजनीतिक तटस्थता कायम गर्नुपर्ने, पारदर्शिता कायम गर्नुपर्ने, आर्थिक अनुशासन र सदाचारिता कायम गर्नुपर्नेलगायतका महत्वपूर्ण व्यवस्था गरिएको छ । तर, यस्ता प्रावधानलाई अधिकांश कर्मचारीले ठाडै उल्लङ्घन गर्दै आइरहेका छन् । कर्मचारीले आचरण पालना गरे नगरेको बारेमा तालुक निकायले नियमित अनुगमन गर्नुपर्नेमा त्यस्तो अनुगमनसमेत हुन नसकेको बताइएको छ । कर्मचारी केन्द्रीय निकाय (सीपीए) को रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सबै निकायको अनुगमन गर्ने जिम्मेवारीमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत कर्मचारीले आचरण पालना गरे नगरेको बारेमा प्रभावकारी अनुगमन संयन्त्र बनाउन सकेको छैन ।
नियामावलीले नै कर्मचारीले आचरण उल्लङ्घन गरेमा विभिन्न कारबाही गर्नुपर्ने व्यवस्था गरे पनि यो प्रावधान पनि करिब करिब निष्क्रियजस्तै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूको भनाइ छ । नियमावलीमा आचारण उल्लङ्घन गरेमा बर्खास्तसमेत गर्न सकिने प्रावधान राखिएको छ । तर, हालसम्म त्यसरी बर्खास्त हुने कर्मचारीहरूको संख्या निकै नगण्य रहेको बताइएको छ । नियमावलीमा कर्मचारीले राजनीतिमा भाग लिएमा, स्थायी आवासीय अनुमति लिएमा वा सोका लागि आवेदन दिएमा तथा आचरणसम्बन्धी कुरा बराबर उल्लङ्घन गरेमा भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त हुने व्यवस्था गरिएको छ । यस्ता प्रावधानहरूको कार्यान्वयन करिबकरिब शून्य अवस्थामा रहेको बताइएको छ ।
यस्ता छन् निजामती कर्मचारीका आचरणहरू :
पदीय आचरण
–पदीय मर्यादा कायम राख्नुपर्ने
–उचित र समान व्यवहार गर्नुपर्ने
–कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काममात्र गर्नुपर्ने
–कार्यालयको सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने
–सूचनाको दुरुपयोग गर्न नहुने
–कामकारबाहीमा निष्पक्षता कायम गर्नुपर्ने
–व्यापार व्यवसाय गर्न नहुने
–स्वार्थ रहेको विषयमा जानकारी गराउनुपर्ने
–परिचयपत्र र पोशाक लगाउनुपर्ने
–राजनीतिक तटस्थता कायम गर्नुपर्ने
–पारदर्शिता कायम गर्नुपर्ने
–आफूलाई सुम्पिएको जिम्मेवारी छिटो छरितो पूर्ण र गुणस्तरीय रूपमा गर्नुपर्ने
–गुनासो व्यवस्थापन गर्नुपर्ने
पेशागत आचरण
–कानुनको जानकारी र पालना गर्नुपर्ने
–पेशाको सम्मान गर्नुपर्ने
–आफ्नो क्षमता विकास गर्न प्रयत्न गर्ने
–पेशागत अनुमतिपत्र पालना गर्नुपर्ने
–गुणस्तरीय रूपमा कार्यसम्पादन गर्ने
–व्यावसायिक मापदण्डको पालना गर्ने
–आर्थिक अनुशासन र सदाचारिता कायम गर्नुपर्ने











प्रतिक्रिया