ललितपुरको सप्तखेलमा हस्तकला मेला सुरु


ललितपुर ।

सप्तखेल टोल सुधार समिति र सप्तखेल मिसा पुचःको आयोजनामा बिहीबार ललितपुर महानगरपालिका– ९ स्थित बालकुमारी, सप्तखेलमा हस्तकला मेला सुरु भएको छ ।

स्थानीयस्तरमा उत्पादित घरेलु तथा हस्तकलाजन्य सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको समितिका अध्यक्ष चैत्य महर्जनले बताए।

‘समुदायस्तरले स्थानीय तह र वडाको साथ लिएर गरेको यो तेस्रो मेला हो । यो मेलाले हस्तकलाको सामग्रीको प्रवद्र्धनका साथै महिलाहरुमा व्यापार र व्यवसाय गर्ने ज्ञान र कौशल गर्ने अपेक्षा लिएको छु ।’ समितिका अध्यक्ष महर्जनले भने।

मेलामा धातुका मूति, हस्तकलाजन्य उत्पादन सामग्री, लत्ताकपडा, खाद्य सामग्री, सज्जावटका गरी विभिन्न स्टलहरु रहेको मेला संयोजक चक्रबहादुर श्रेष्ठले जानकारी दिए।

मेलामा हरेक दिन साँझ सांस्कृतिक कार्यक्रमसंगै नेवाः खानाको परिकारको स्वाद लिन सकिने जनाउँदै संयोजक श्रेष्ठले भने ‘  त्यसैगरी क्रेता र बिक्रेताहरुबीच प्रत्यक्ष भेटघाट हुने अवसरका रुपमा पनि लिएको छु ।’

मेला आयोजना गर्न ललितपुर महानगरपालिका– ८ र ९ ले सहयोग गरेको समितिले जनाएको छ। बिहीबार एक समारोहकाबीच मेलाको महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुभारम्भ गरे। मेला तीन दिनसम्म चल्ने छ।