काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै देशमा चर्चित भनिएका केही व्यक्ति नै नसाको प्रभावमा भेटिने गरेको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा पार्टीको ११औँ महाधिवेशनमा स्वयंसेवकको भूमिका निर्वाह गरेका युवाहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले अनावश्यक रूपमा चर्चामा ल्याइएका व्यक्तिहरू समेत नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको उल्लेख गर्दै त्यसलाई गम्भीर विषयका रूपमा लिनुपर्ने बताए।
अध्यक्ष ओलीले युवाहरूले विषयवस्तु सही ढंगले नबुझ्नु, आचरणमा अनुशासन नदेखाउनु र आफूलाई जिम्मेवार रूपमा प्रस्तुत गर्न नसक्नु मुलुककै लागि समस्या बन्न सक्ने धारणा राखे। यद्यपि एमालेसँग आवद्ध युवाहरू यस्ता दुर्व्यसनी गतिविधिबाट टाढा रहेको उनको जिकिर थियो।
कार्यक्रममा उनले महाधिवेशनका क्रममा स्वयंसेवकका रूपमा खटिएका युवाहरूको कार्यसम्पादनको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।
अध्यक्ष ओलीले देशको स्वाधीनताको संरक्षणका लागि पार्टीका नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।











प्रतिक्रिया