काठमाडौं ।
हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई लक्षित गरी गरिएको विशेष निगरानीका क्रममा अन्तर्राष्ट्रिय लागूऔषध तस्करी गिरोहसँग सम्बन्धित तीन जना विदेशी नागरिकलाई ठूलो परिमाणको कोकिन जस्तो देखिने सेतो पदार्थसहित पक्राउ गरिएको छ।
प्रहरीका अनुसार दुई फरक–फरक अपरेसनमार्फत कुल ४ केजी ३०० ग्रामभन्दा बढी लागूऔषध कोकिन बरामद गरिएको हो।
पेटभित्र लुकाएर कोकिन ल्याउने थाई नागरिक पक्राउ
लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी थाई नागरिक मिस रुशानी कामा (४०) लाई ८ गते काठमाडौं महानगरपालिका–९, सिनामंगलस्थित एक होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा प्रारम्भमा उनको साथबाट प्लास्टिकले कोट गरिएका १२ वटा क्याप्सुल बरामद गरिएको थियो। थप अनुसन्धान गर्दा उनले लागूऔषध मुखबाट निलेर पेटभित्र लुकाई ल्याएको खुलेको थियो।
त्यसपछि अस्पतालमा स्वास्थ्यकर्मीको सहयोगमा पेटभित्र लुकाइएका थप २९ वटा क्याप्सुल सुरक्षित रूपमा निकालिएको प्रहरीले जनाएको छ। यसरी जम्मा ४१ वटा क्याप्सुल तौल गर्दा ५५० ग्राम कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद भएको हो।
कफीको प्याकेटमा लुकाएर ३.७५ केजी कोकिन
अर्को अपरेसनमा लाओसबाट सिंगापुर हुँदै काठमाडौं आएका भारतीय नागरिक जेभियर मैथ्यु थालियाचेरी (५५) लाई निगरानीमा राखी सिनामंगल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनसँगै रहेको सुटकेस लिन आएका अर्का भारतीय नागरिक मुर्सालेन हुसेन (२१) लाई पनि सँगै नियन्त्रणमा लिइएको हो। खानतलासीका क्रममा सुटकेसभित्र रहेको कफीको प्याकेटमा लुकाइ राखिएको अवस्थामा ३ केजी ७५० ग्राम कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय तस्करी सञ्जालमाथि कडा अनुसन्धान
प्रहरीका अनुसार यी घटनाले नेपाललाई ट्रान्जिट बनाएर सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जाल सक्रिय रहेको संकेत गरेको छ। पक्राउ परेका सबै प्रतिवादीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
हवाई मार्ग हुँदै हुने लागूऔषध तस्करी रोक्न निगरानी थप कडा बनाइएको र अन्तर्राष्ट्रिय नेटवर्कको जरोसम्म पुग्ने गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया