नयाँ दिल्ली, (एजेन्सी)
भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले पुरुष लिस्ट ए क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेर इतिहास रचेका छन् । १४ वर्ष २ सय ७२ दिनको उमेरमा उनले बिहारको विजय हजारे ट्रफीको उद्घाटन खेलमा अरुणाचल प्रदेशविरुद्ध केवल ३६ बलमा शतक बनाएका हुन्।
यो बिहारका खेलाडीहरूले बनाएका तीन शतकहरू मध्ये एक थियो । उनीहरूले ६ विकेटको क्षतिमा ५ सय ७४ को विशाल रन बनाएका थिए । पुरुष लिस्ट ए क्रिकेटमा कुनै टोलीले ५० ओभरको इनिङमा ५ सय रन पार गरेको यो दोस्रो पटक थियो ।
सूर्यवंशीले पुरुष लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो १ सय ५० रन बनाएर दक्षिण अफ्रिकाका महान एबी डिभिलियर्सको रेकर्ड पनि तोडे । उनले ५९ बलमा १ सय ५० रन बनाएर डिभिलियर्सको ६४ बलको रेकर्ड तोडेका थिए । तर, उनी १ सय ९० रनमा आउट हुँदा दोहोरो शतक बनाउन चुकेका थिए ।
सूर्यवंशीको इनिङमा १६ चौका र १५ छक्का समावेश थिए । डिसेम्बर २०२४ मा डेब्यू गरेका उनको यो सातौं लिस्ट ए खेल थियो । यो वर्ष सूर्यवंशीका लागि रेकर्ड तोड्ने वर्ष सावित भएको छ ।
सूर्यवंशीले अप्रिलमा इन्डियन प्रिमियर लिगमा आफ्नो पहिलो बलमा छक्का प्रहार गरेर विश्वव्यापी ख्याति हासिल गरेका थिए । त्यसपछि उनी गुजरात टाइटन्सविरुद्ध राजस्थान रोयल्सका लागि ३५ बलमा शतक प्रहार गर्दै पुरुष टी–२० मा शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बन्ने सौभाग्य प्राप्त गरे । यो २०१३ मा क्रिस गेलको ३० बलमा शतकपछि आईपीएल इतिहासको दोस्रो सबैभन्दा छिटो शतक पनि थियो ।
सू्र्यवंशीले जुलाईमा युवा एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक प्रहार गरेर रेकर्ड राखे । भारतले वोर्सेस्टरमा इङ्गल्याण्डलाई ५५ रनले पराजित गर्दा उनले ७८ बलमा १ सय ४३ रन बनाएका थिए । उनले शतक प्रहार गर्न ५२ बलको सामना गरेका थिए । योसँगैं उनले २०१३ मा इङ्गल्याण्डविरुद्ध पाकिस्तानका लागि कामरान गुलामको ५३ बलको शतकलाई ओझेलमा पारे ।
चार महिनापछि, सूर्यवंशीले एसिया कप राइजिङ स्टार्स टी–२० खेलमा संयुक्त अरब इमिरेट्सविरुद्ध भारत ए को जितमा पनि शतक प्रहार गरे । उनले ३२ बलमा शतक प्रहार गरेका थिए । जुन पुरुष टी–२० मा संयुक्त रूपमा पाँचौं सबैभन्दा छिटो शतक थियो । उनी अन्ततः ४२ बलमै १ सय४४ रन बनाएर आउट भए ।











प्रतिक्रिया