क्रिकेटर मिनष थापाको दुर्घटनामा मृत्यु


काठमाडौं ।

विराटनगरमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु भएको छ।

विराटनगर–४ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

मोरङ प्रहरीले दिएको जानकारी अनुसार थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएका थापाको असामयिक निधनले परिवार, साथीभाइ तथा सम्पूर्ण क्रिकेट जगत शोकमा डुबेको छ।