काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाभित्र सडक कालोपत्र गर्ने क्रममा अनियमितता भएको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
नगरपालिकाको बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्म कालोपत्र गर्ने क्रममा कमिसनको चलेखलमा अनियमितता भएको भन्दै सो मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । आयोगले मुद्दा दायर गर्दा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरेमुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जनप्रतिबिम्ब दैनिकका प्रकाशन तथा प्रधानसम्पादक सञ्जयकुमार साह रहेका छन् ।
आर्थिक वर्ष २०८०-८१ म सडक कालोपत्रे गर्ने ठेक्कामा कमिसनको चलखेल गरी सार्वजनिक सूचना नै लुकाएको पुष्टि भएपछि अख्तियारले कानुनी कारबाही अघि बढाएको हो । अख्तियारका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफा, सह–लेखापाल उपेन्द्रकुमार साह र जनप्रतिबिम्ब दैनिकका प्रकाशक साहले आपसी मिलेमतोमा बोलपत्रको सूचना लुकाएका थिए ।
सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय वा स्थानीय पत्रिकामा सूचना छाप्नुपर्ने प्रावधान रहेको छ । यसक्रममा पत्रिकाको एउटा प्रति (सेटिङका लागिमात्र) छापेर सर्वसाधारण र अन्य व्यवसायीले थाहा नपाउने गरी ठेक्का प्रक्रिया अघि बढाएका थिए । प्रेस काउन्सिलको अभिलेखमा उक्त मितिको पत्रिकामा कुनै सूचना नभेटिएपछि यो किर्ते काम भएको रहस्य खुलेको सहायक प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
सूचना नै प्रकाशन नगरी पत्रिकामा विज्ञापन छापिएको भन्दै नगरपालिकाबाट ६५ हजार रुपियाँ भुक्तानीसमेत लिइसकेको पाइएको छ । झुट्टा बिल भरपाई बनाएर सरकारी सम्पत्ति हानिनोक्सानी पु¥याउने र आफूहरूले गैरकानुनी लाभ लिने बदनियत राखेको अख्तियारको दाबी छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको भन्दै अख्तियारले मुस्तफा, साह र प्रकाशक सञ्जयकुमार साहलाई सजाय र जरिवानाको मागदाबी लिइएको छ ।











प्रतिक्रिया