–२५ पदक र पुरस्कार प्रदान हुने
–सर्वोत्कृष्ट अङ्क ल्याउने कमल पौडेललाई तीन पदक र पुरस्कार
काठमाडौं।
त्रिभुवन विश्वविद्यालको दीक्षान्त समारोहमा ६८ हजार ८ सय ११ विद्यार्थीले भाग लिन अनिच्छुक देखिएका छन् । ०८१ असार मसान्तदेखि चालू शैक्षिक सत्रको असार मसान्तसम्म स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका उत्तीर्ण भई ट्रान्सकिप्ट लिएर ग्रेसलिस्टमा नाम समावेश भएका ८९ हजार १ सय ९१ मध्ये आज बिहीबार हुने दीक्षान्त समारोहमा १६ हजार ३ सय ८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका थिए ।
तिनै विद्यार्थीलाई आज समारोहका प्रमुख अतिथि तथा नोबेल पुरस्कार विजेता प्राडा ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा प्रमाणपत्र वितरण गरिँदै छ । दशरथ रंगशालामा आयोजना हुने दीक्षान्त समारोहमा स्नातक स्तरका ११ हजार २ सय ३४, अधिस्नातक १४, स्नातकोत्तर तहका ४ हजार ८ सय ६०, दर्शनाचार्य १ सय २० र विद्यावारिधि १ सय ५२ विद्यार्थीहरू हुनुहुन्छ । दीक्षित हुनेमा सबैभन्दा बढी स्नातक तह पूरा गरेका विद्यार्थी छन् ।
समारोहमा ४० हजारभन्दा बढी सहभागीको उपस्थितिमा विश्वप्रसिद्ध भौतिकशास्त्री प्राडा ताकाआकी काजिताको साथमा विद्यार्थीलाई दीक्षित गर्न लागिएको उपकुलपति प्राडा दीपक अर्यालले जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई हौसाला दिँदै चुनौतीहरू आए, बाधाहरू सामना गर्नुभयो तर यहाँहरूले हार मान्नुभएन र अब ज्ञान, नैतिक मूल्य र सामाजिक जिम्मेवारीसँग आजबाट सुसज्जित विशाल एल्मुनाईका सदस्य भएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीको भविष्य उज्ज्वल होस्, सकारात्मक योगदान दिन सकियोस् र विश्वविद्यालयसँग निरन्तर सम्बन्ध कायम हुन सकोस् भनी आफ्ना भावना व्यक्त गर्नुभयो ।
उहाँले विद्यार्थीको अथक योगदानको कारण त्रिविले ७० प्रतिशत विद्यार्थी ओगटेर ठूलो सफलता हासिल गरेको बताउनुभयो । उपकुलपति अर्यालले यसो भनिरहँदा करिब ६९ हजार विद्यार्थी उपस्थिति नभएको विषयमा केही भन्नुभएन ।
तर, त्रिविसँग सरोकार राख्ने अभिभावकले हरेक ६–६ महिनामा दीक्षान्त समारोह गर्दा अधिकांश विद्यार्थीले सहभागी हुने मौका पाउने बताएका छन् । तर, त्रिविले आगामी वर्षबाट क्षेत्रीयगत रूपमा पोखरामा दीक्षान्त समारोह आयोजना गर्ने जनाएको छ । त्रिविको हालै सम्पन्न सभाले क्षेत्रीय रूपमा दीक्षान्त सामारोह आयोजना गर्ने नीति तथा कार्यक्रम पारित गरेको थियो । विगतमा संकायगत रूपमा दीक्षान्त समारोह गर्ने घोषणा गरिए पनि आवश्यक अध्ययन र तयारी अभावका कारण आगामी वर्ष प्रदेशगत रूपमा समारोह आयोजना गर्नुपर्ने अवस्था आएको उहाँले दोहो¥याउनुभयो ।
विज्ञान र प्रविधिको आजको युगमा विद्यार्थीको जिम्मेवारी अझ महत्वपूर्ण भएको बताउँदै दीक्षित हुने विद्यार्थीलाई समर्पण, अनुशासन र ज्ञानले विद्यार्थीलाई शिक्षामात्र प्रदान गर्दैन, यहाँहरूको चरित्र निर्माण र नेतृत्व विकासमा पनि मार्गदर्शन गर्ने उपकुलपति अर्यालको भनाइ थियो । उहाँले विद्यार्थीको सक्रिय सहभागिताले विश्वविद्यालय र समाजबीच सुमधुर सम्बन्ध कायम गर्न र दीर्घकालीन प्रभाव पार्न पनि सहयोग गरेको उल्लेख गर्नुभयो ।
दीक्षान्त समारोहमा २५ पदक तथा पुरस्कार वितरण गरिनेछ । उपकुलपति अर्यालले अन्तर्राष्ट्रिय स्तर मापनमा त्रिभुवन विश्वविद्यालय करिब १३ सयको वरिपरि रहेको जानकारी दिनुभयो । सर्वोकृत्ष्ट अङ्क ल्याउने एक विद्यार्थीले तीन र तीन विद्यार्थीले दुई–दुई पदक तथा पुरस्कार पाउनेछन् । बुटवल बहुमुखी क्याम्पस बुटवल स्नातकोत्तर तहमा (अर्थशास्त्र) सर्वोत्कृष्ट अङ्क ल्याउने कमल पौडेलले तीन पदक र पुरस्कार पाउने हुनुभएको छ । पौडेलले नै तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार र पदक पाउँदै हुनुहुन्छ ।
समारोहमा त्रिवि केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तहको अङ्ग्रेजीमा विषयमा सर्वोकृष्ट अङ्क ल्याउने आग्या वाग्ले, राजनीतिशास्त्र विषयमा सर्वोत्कृष्ट प्रतिभा पौडेलले दुई÷दुई पदक र पुरस्कार पाउनेछन् । वाग्लेले डा. मोहनप्रसाद लाखे पुरस्कार र नरेन्द्रमणि आचार्य दीक्षित पुरस्कार र पौडेलले वडाकाजी मरिचमान सिं पदक र ललितचन्द पुरस्कार पाउनेछन् ।
२०८२ सालको भाइस चान्सलर पदक शङ्करदेव क्याम्पसमा स्नातक तहको परीक्षाफलमा प्रथम हुनुभएका फुर्वा शेर्पाले पाउँदै हुनुहुन्छ । उहाँले भ्वाइस सत्यमाँ स्मृति स्वर्ण पदक पाउनुहुनेछ । समारोहमा एमफिलतर्फ एक, स्नातकोत्तर तहमा १६ र स्नातक तहतर्फ आठ पदक तथा पुरस्कार प्रदान गर्नेछ ।
त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन सङ्कायअन्तर्गत एमफिल तहमा सर्वोकृत्ष्ट विशाल जोशीलाई प्रदान गरिनेछ । इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबीए तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने रक्षा भेटुवालले पाउनेछन् ।
नेबैंलि सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएस परीक्षामा प्रथम हुने शंकरदेव क्याम्पसका सुनिल पुडासैनीलाई, रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार एमबीएस परीक्षामा महिलामध्ये प्रथम अङ्क ल्याउने सरस्वती क्याम्पसकी समिता महर्जनले पाउनुहुने भएको छ । एमएस्सी माइक्रोबायोलोजीमा प्रथम हुने रवीन्द्र पण्डितले रुद्रकुमारी घिमिरे स्मृति पदक, एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा प्रथम अङ्क ल्याउने आयुष्मा थापामगरलाई डा. दुबसु क्षेत्री स्वर्ण पदक प्रदान गरिने भएको छ ।
शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञानमा प्रथम अंक ल्याउने रस्मिता कार्की, नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा प्रथम हुने अनुशा रोका, गोविन्द रिजाल प्राज्ञिक उत्कृष्ट पदक कृषि स्नातकोत्तरमा प्रथम हुने श्रृष्टि पोखरेल र सुमन रिजाल पदक एमए समाजशास्त्रमा प्रथम हुने सौरभ कोइरालालाई प्रदान गरिने भएको छ ।
स्नातक तहतर्फ आठ जनालाई २०८० सालको पदक तथा पुरस्कार प्रदान गरिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । स्नातक तहतर्फ बीएचएम (होटल म्यानेजमेन्ट स्नातकमा प्रथम हुने उवेन्द्रकुमार तामाङलाई प्रितम चित्रकार पुरस्कार, एलएलबीमा प्रथम हुने भावना अधिकारीलाई लोकराज ज्ञवाली पदक, सिभिल इन्जिनियरिङको स्नातक तहमा प्रथम गौरव भुसाललाई शिवराज पन्त स्मृति पुरस्कार, बीबीएस परीक्षामा प्रथम आकाश सुयाललाई नेबैंलि छत्रबहादुर पदक प्रदान गरिनेछ । बीएस्सी माइक्रोबायोलोजीमा प्रथम हुने अग्रनि पौडेललाई टीकाबल्लभ डिलकुमारी घिमिरे स्मृति पदक र बीए परीक्षामा महिलामध्ये प्रथम हुने सुभाषी कार्कीलाई ज्ञानप्रसाद पुरस्कार प्रदान गरिने छ ।











प्रतिक्रिया