मुगु।
यसपटक पानी पनि पर्न नसकेको र हिउँ पनि पर्न नसकेको अवस्थामा बादल लागेर एकोहोरो सिरेटो चल्दा अत्यधिक चिसोका कारण मुगुको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । जिल्लाका युवाहरू रोजगारीको खोजीमा छिमेकी भारत तथा ठूला सहरहरूमा पलायन भएको अवस्थामा चिसोले बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलाहरू बढी प्रभावित भएका छन् ।
यही एक साताभित्र सोरु वडा नं. ९ का ६३ वर्षीय भुम्मा मल्लसहित चिसोले बालबालिका र ज्येष्ठ नागरिक गरी कम्तीमा चार जनाको मृत्यु भइसकेको छ भने एक दर्जनभन्दा बढी बिरामी भएका छन् । सोरु वडा नं. ८ का वडाअध्यक्ष हंश कार्कीका अनुसार चिसोले कालै मुगुका वडा ८ र ९ मात्रै होइन, पूरै जिल्ला प्रभावित भएको छ । स्थानीयका अनुसार पोहोर परार यतिखेर पानी र हिउँ परेर पनि बादल हटेर घाम लाग्ने गरेकोमा यस पटक बादल लागेर एकोहोरो सिरोटो मात्र चलेकोले चिसो अत्यधिक बढेको हो । गाउँ पालिकाहरूले चिसोबाट प्रभावितहरूका लागि निमोनिया, रुघाखोकी, टाउको दुख्ने, ज्वरोलगायतका बिरामीहरूको लागि औषधि वितरण गरिरहेको भए तापनि बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
यसैबीच अत्यधिक चिसोका कारण जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपु गाउँस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमको पठनपाठन गम्भीर रूपमा प्रभावित भएको छ । हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि विद्यार्थीहरू कक्षा कोठाभित्र बस्न नसकी खुला चौरमै आगो बालेर आगो ताप्दै अध्ययन गर्न बाध्य भएका छन् ।
भौगोलिक अवस्थाका कारण विद्यालयमा बिहान करिब ८ बजेमात्र घाम लाग्ने र दिउँसो करिब १ बजेपछि घाम अस्ताउने गर्दछ । दिनभरमा झण्डै ३ घण्टामात्रै घाम देखिने हुँदा घाम अस्ताएसँगै कडा चिसो बढ्ने गरेको विद्यालय प्रशासनले जनाएको छ । यस्तो अवस्थामा नियमित कक्षाकोठामा बसेर अध्ययन अध्यापन गर्न कठिन भएपछि आगो बालेर कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । हाल उक्त विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् । चिसो बढ्दै जाँदा विद्यार्थीहरूको नियमित उपस्थितिमा कमी आउनुका साथै पठनपाठनको वातावरण चुनौतीपूर्ण बन्दै गएको विद्यालयले जनाएको छ । चिसोका कारण साना कक्षाका विद्यार्थीहरू बढी प्रभावित भएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर रोकायाकाअनुसार विद्यालयका कक्षा कोठामा न्यानोपनको कुनै व्यवस्था छैन । झ्यालढोका जीर्ण अवस्थामा हुनु, कक्षा कोठामा चिसो छिर्न नरोकिनु, तातो पानी तथा न्यानो बस्ने संरचनाको अभावले विद्यार्थीहरू समस्यामा परेका छन् । न्यानो वातावरण नहुँदा बालबालिकाले ध्यान दिएर पढ्न नसकेको उहाँले बताउनुभयो ।
यसै गरी विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर रोकायाले चिसो मौसमका कारण विद्यार्थीहरूको उपस्थितिमा कमी आउनुका साथै कक्षामा ध्यान केन्द्रित गर्न कठिन भइरहेको बताउनुभयो । उहाँकाअनुसार अत्यधिक चिसोले सिकाइ उपलब्धिमा नकारात्मक असर पारिरहेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘चिसोका कारण कतिपय विद्यार्थी विद्यालय नै नआउने अवस्था छ । यसले पठनपाठनको निरन्तरतामा असर पारेको छ ।’
चिसो मौसमलाई मध्यनजर गर्दै स्थानीय तह, अन्य सरोकारवाला निकायबाट तत्काल सहयोग र वैकल्पिक व्यवस्था आवश्यक रहेकोमा जोड दिँदै उहाँले स्थानीय अभिभावकहरूले समेत चिसोका कारण विशेषगरी साना कक्षाका बालबालिकालाई विद्यालय पठाउन हिच्किचाउने अवस्था आएको गुनासो गरेका जानकारी दिनुभयो । आगो ताप्दै पढ्नुपर्दा बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । मुगुका खमाले, चाकपाडे, गिलाहाँ, नेर, धैन, लगायत एक दर्जन बस्तीमा यस्तै समस्या छ ।
हिमाली क्षेत्रमा चिसोको असरले बालबालिकाको स्वास्थ्य र शिक्षामा गम्भीर समस्या नआओस् भन्नका लागि विद्यालयमा न्यानो कक्षा कोठाको व्यवस्था, झ्यालढोका सुधार, वैकल्पिक सिकाइ समय निर्धारण तथा आवश्यक सामग्री उपलब्ध गराउन सरोकारवाला निकायको तत्काल ध्यान र पहल आवश्यक देखिएको स्थानीय बताउँछन् ।











प्रतिक्रिया