काठमाडौँ ।
सामाजिक सञ्जालमार्फत प्रहरी संगठनको गरिमा र प्रतिष्ठामा आँच पुग्ने सामग्री पोस्ट गरेको ठहर भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटालाई नसिहत दिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय, नक्सालको दरबन्दीमा कार्यरत डीआईजी सापकोटाले प्रहरी संगठनभित्र भएको सरुवालाई लिएर आफ्नो फेसबुक आईडीबाट स्टाटस लेखी अनावश्यक टीका–टिप्पणी गरेको पाइएको थियो। उक्त गतिविधि “फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी Guidelines”, “नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश, २०७७”, नेपाल प्रहरीको सञ्चारमाध्यम (मिडिया) सम्बन्धी नीति, २०६० तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को प्रतिकूल भएको निष्कर्ष निकालिएको छ।
प्रधान कार्यालयका अनुसार सापकोटाको उक्त कार्य अनुशासनहीन र लापरवाहीपूर्ण भई सन्तोषजनक नदेखिएको ठहर गरिएको हो। त्यस आधारमा प्रहरी नियमावली, २०७१ को नियम ११० को (क) बमोजिम कसूर ठहर गर्दै ऐ. नियमावलीको नियम ११९ को उपनियम (१) को देहाय (१०) को खण्ड (क) ले दिएको अधिकार प्रयोग गरी नियम १०९ को (क)(२) बमोजिम उनलाई नसिहत दिइएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशीलता, संस्थागत मर्यादा र आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः स्मरण गराएको छ।











प्रतिक्रिया