नख्खु कारागारबाट फरार अभियुक्तद्वारा ठमेलमा युवकको हत्या, रोल्पाबाट पक्राउ


काठमाडौं ।

 नख्खु कारागारबाट फरार रहेका एक अभियुक्तले ठमेल क्षेत्रमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको खुलेको छ। हत्या आरोपमा फरार रहेका अभियुक्तलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत भदौ २४ गतेको प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागी फरार भएका दाङ राप्ती गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने २२ वर्षीय आकाश मगरले असोज १३ गते राति करिब ११ः५५ बजे ठमेलस्थित बुद्धनगरको ‘ह्याप्पी होटल’ अगाडि सुरज तामाङको हत्या गरेका थिए।

मृतक सुरज तामाङ पर्सा जिल्लाको ठोरी गाउँपालिका–५ सुवर्णपुर घर भई हाल काठमाडौंको बालाजु मनमैजुमा बस्दै आएका २५ वर्षीय युवक हुन्। प्रहरीका अनुसार मगरले धारिलो हतियार प्रयोग गरी तामाङमाथि आक्रमण गरेका थिए, जसबाट घटनास्थलमै उनको मृत्यु भएको थियो। घटनापछि अभियुक्त फरार भएका थिए।

घटनापछि व्यापक खोजी अभियान थालेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रोल्पाको समन्वयमा आकाश मगरलाई रोल्पा नगरपालिका–१० धाङ्सीबाट पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त लैनचौर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानबाट आकाश मगर आपराधिक पृष्ठभूमि भएको व्यक्ति रहेको खुलेको छ। उनीविरुद्ध यसअघि पनि विभिन्न अपराधमा मुद्दा दर्ता भएका थिए। मिति २०७६ साल कात्तिक ३ गते प्रहरी वृत्त महाराजगञ्जमा अभद्र व्यवहार मुद्दा, २०७७ साल कात्तिक १६ गते प्रहरी वृत्त बालाजुमा अभद्र व्यवहार मुद्दा तथा २०८० साल साउन २२ गते लागू औषध नियन्त्रण ब्युरोबाट लागू औषधसम्बन्धी मुद्दा दर्ता भएको प्रहरी रेकर्डमा उल्लेख छ।

त्यस्तै, २०८० साल भदौ ३१ गते चोरी मुद्दामा प्रहरी वृत्त महाराजगञ्जमा मुद्दा दर्ता भएको थियो भने नख्खु कारागारबाट फरार भएको घटनापछि मिति २०८२ साल असोज २४ गते प्रहरी वृत्त लैनचौरमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाउँदै हत्या घटनामा प्रयोग गरिएको हतियार र अन्य संलग्न पक्षबारे थप तथ्यहरू संकलन भइरहेको जनाएको छ।