यातायात कार्यालय र ट्रायल सेन्टरमा बिचौलियाको काम गर्ने ८ जना पक्राउ


काठमाडौं

यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टरहरूमा बिचौलियाको काम गरी सेवाग्राहीलाई दुःख हैरानी दिने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यातायात व्यवस्था कार्यालय राधे–राधे भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौं तथा दक्षिणढोका ट्रायल सेन्टरलगायत स्थानमा बिचौलिया सक्रिय रहेको विशेष सूचनाको आधारमा प्रहरीले कारबाही गरेको हो।

प्रहरीका अनुसार बिचौलियाले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने, काम छिटो गराइदिने आश्वासनमा रकम असुल्ने तथा कार्यालयका कर्मचारीको दैनिक कार्यसम्पादनमा समेत प्रभाव पार्ने गरेको पाइएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–८ घर भई हाल ललितपुर मंगलबजार बस्ने ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ का ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी गाउँपालिका–४ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ३३ वर्षीय बासु खड्का रहेका छन्।

त्यसैगरी झापा कमल गाउँपालिका–२ घर भई हाल भक्तपुर नगरपालिका–१० बस्ने ४७ वर्षीय भिमबहादुर नेम्वाङ, काठमाडौं महानगरपालिका–८ गुहेश्वरी बस्ने ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानी बस्ने ३६ वर्षीया शर्मिला चौलागाईं पनि पक्राउ परेका छन्।

प्रहरीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीचौर बस्ने ४१ वर्षीया दिपा कटुवाल तथा पर्वत जलजला गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ दक्षिणढोका बस्ने ५० वर्षीय दुर्गा प्रसाद न्यौपानेलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

उक्त व्यक्तिहरूलाई मिति २०८२ साल पुस ८ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यातायात कार्यालय र ट्रायल सेन्टरमा हुने बिचौलिया गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ सशक्त बनाइने जनाएको छ।