तमु सञ्चारकर्मीद्वारा पत्रकारिता पुरस्कार प्रदान


 काठमाडौं।

तमु(गुरुङ) सञ्चारकर्मी संघले पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने छ जना पत्रकारहरुलाई बुधबार पुरस्कृत गरेको छ।

संघले राजधानीमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरेको हो। समारोहमा पूर्वप्रधानसेनापति छत्रमानसिंह कमला गुरुङ पत्रकारिता पुरस्कार स्याङजाका धनबहादुर गुरुङ र काठमाडौंका श्यामकृष्ण श्रेष्ठ,सुश्री भद्रकुमारी घलेपत्रकारिता पुरस्कार रविन गुरुङ,तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार इच्छा गुरुङ, आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार खुसीमाया गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार सूचना गुरुङलाई प्रदान गरिएको हो ।

सो अवसरमा पुरस्कृत हुने पत्रकारहरुलाई संघका अध्यक्ष लाला गुरुङले खादा, आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रमाणपत्र र पुरस्कारका सम्बन्धित दाताहरुले नगद पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा गुरुङ डटकम नामक अनलाईन पोर्टल र विभिन्न क्षेत्रमा योगदान पु¥याएका गुरुङ समुदायका व्यक्तित्वहरुको जीवनी र संघर्ष समेटिएको गुरुङ पत्रिकाको लोकार्पण गरिएको थियो।

समारोहमा वक्ताहरुले आदिवासी जनजातिका भाषा, संस्कृति, परम्परा र हकअधिकार लगायतका विषयमा सञ्चारमाध्यममा उपयुक्त स्थान दिनुपर्नेमा जोड दिँदै आआफ्नो धारणा राखेका थिए। प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, संघका पूर्वअध्यक्ष डण्ड गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजका महासचिव समीर बलामी, वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङ लगायतले बोलेका थिए।