बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध आरोपपत्र दायर


काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मतसम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार बहुदरमाई नगरपालिका–२ अन्तर्गत बैरिया क्षेत्रको सडक मर्मत तथा कालोपत्रे कार्यका लागि आ.व. २०७९/८० मा स्वीकृत योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन विपरीत ठेक्का सूचना लुकाइएको पाइएको छ। उक्त ठेक्का सूचना राष्ट्रिय वा स्थानीयस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्ने भए पनि नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह–लेखापाल उपेन्द्र कुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहको मिलेमतोमा सूचना सार्वजनिक नगरी ठेक्का प्रक्रिया अघि बढाइएको आयोगको ठहर छ।

अनुसन्धानका क्रममा जन प्रतिबिम्ब दैनिकको मिति २०८०/१२/२५ को पत्रिकामा ठेक्कासम्बन्धी सूचना प्रकाशित नै नगरी झुट्टा बिल तथा भरपाई बनाएर . ६५ हजार भुक्तानी लिएको प्रमाणित भएको आयोगले जनाएको छ। प्रेस काउन्सिल नेपालबाट प्राप्त कागजातअनुसार उक्त मितिको पत्रिकाको पहिलो पृष्ठमा कुनै पनि ठेक्का सूचना प्रकाशित नभएको पाइएको छ।

आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसूर ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा र सह–लेखापाल उपेन्द्र कुमार साहविरुद्ध ६५ हजार बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी लिएको छ।

त्यसैगरी जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहविरुद्ध मुख्य कसूरदारलाई सहयोग गरेको मतियारको कसूरमा सोही ऐनअनुसार मुख्य कसूरदार सरह सजाय र बिगो असुल उपरको मागदाबी गरिएको छ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।