चिसो बढेपछि आगो तापेरै अध्ययन-अध्यापन


मुगु। 

जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका-९ पाँपु गाउँ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अत्यधिक चिसोका कारण पठनपाठन गम्भीर रूपमा प्रभावित भएको छ । हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि विद्यार्थीहरू कक्षा कोठा भित्र बस्न नसकी खुला चौरमै आगो बालेर आगो ताप्दै अध्ययन गर्न बाध्य भएका छन् ।

विद्यालय रहेको भौगोलिक अवस्थाका कारण बिहान करिब ८ बजे मात्र घाम लाग्ने र दिउँसो करिब १ बजेपछि घाम अस्ताउने गर्दछ । दिनभरमा झण्डै ३ घण्टामात्रै घाम देखिने हुँदा घाम अस्ताएसँगै कडा चिसो बढ्ने गरेको विद्यालय प्रशासनले जनाएको छ । यस्तो अवस्थामा नियमित कक्षाकोठामा बसेर अध्ययन-अध्यापन गर्न कठिन भएपछि आगो बालेर कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

हाल उक्त विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् । जाडो मौसम झन् बढ्दै जाँदा विद्यार्थीहरूको नियमित उपस्थितिमा कमी आउनुका साथै पठनपाठनको वातावरण झन् चुनौतीपूर्ण बन्दै गएको विद्यालयले जनाएको छ । चिसोका कारण साना कक्षाका विद्यार्थीहरू बढी प्रभावित भएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर रोकायाकाअनुसार विद्यालयका कक्षा कोठामा न्यानोपनको कुनै व्यवस्था छैन । झ्यालढोका जीर्ण अवस्थामा हुनु, कक्षा कोठामा चिसो छिर्न नरोकिनु, तातो पानी तथा न्यानो बस्ने संरचनाको अभावले विद्यार्थीहरू समस्यामा परेका छन् । “न्यानो वातावरण नहुँदा बालबालिकाले ध्यान दिएर पढ्न सकिरहेका छैनन्,” उनले भने ।

यसैगरी विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर रोकायाले चिसो मौसमका कारण विद्यार्थीहरूको उपस्थितिमा कमी आउनुका साथै कक्षामा ध्यान केन्द्रित गर्न कठिन भइरहेको बताए । उनकाअनुसार अत्यधिक चिसोले सिकाइ उपलब्धिमा नकारात्मक असर पारिरहेको छ ।

“चिसोका कारण कतिपय विद्यार्थी विद्यालय नै नआउने अवस्था छ । यसले पठनपाठनको निरन्तरतामा असर पारेको छ,” उनले भने ।

चिसो मौसमलाई मध्यनजर गर्दै स्थानीय तह, अन्य सरोकारवाला निकायबाट तत्काल सहयोग र वैकल्पिक व्यवस्था आवश्यक रहेको उनको जोड छ । स्थानीय अभिभावकहरूले समेत चिसोका कारण विशेषगरी साना कक्षाका बालबालिकालाई विद्यालय पठाउन हिच्किचाउने अवस्था आएको गुनासो गरेका छन्। आगो ताप्दै पढ्नुपर्दा बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन्। यो त प्रतिनिधि मुलक घटना मात्रै  हो ।मुगुका खमाले ,चाकपाडे ,गिलाहाँ,नेर ,धैन, लगायत एक दर्जन बस्तीमा यस्तै समस्या छ।

हिमाली क्षेत्रमा चिसोको असरले बालबालिकाको स्वास्थ्य र शिक्षामा गम्भीर समस्या नआओस् भन्नका लागि विद्यालयमा न्यानो कक्षा कोठाको व्यवस्था, झ्यालढोका सुधार, वैकल्पिक सिकाइ समय निर्धारण तथा आवश्यक सामग्री उपलब्ध गराउन सरोकारवाला निकायको तत्काल ध्यान र पहल आवश्यक देखिएको स्थानीय बताउँछन् ।