काठमाडौँ।
उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले बुधबार आफ्नो १०० दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।
‘भाषणभन्दा नतिजा’लाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री घिसिङले विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध कडा कदम चालेको बताएका छन्। उनका अनुसार वर्षौँदेखि अलपत्र अवस्थामा रहेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्द गरिएको छ। यसमा १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलसहित सडक विभागअन्तर्गत ४० वटा र जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत २२ वटा ठेक्का रहेका छन्।
काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का तोडेर मात्र नछोडिने र नयाँ प्रक्रियामार्फत आयोजनालाई गति दिने उनले स्पष्ट पारेका छन्।
रणनीतिक महत्वका १२०० मेगावाटको बुढीगण्डकी र १६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने गरी वित्तीय ढाँचा तयार पारेर सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको मन्त्री घिसिङले जानकारी दिए।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल उठाउने विषयमा रहेको राजनीतिक हस्तक्षेप र अन्योल अन्त्य गरिएको दाबी गर्दै उनले स्पष्ट निर्देशनपछि उद्योगीहरूले बक्यौता बुझाउन सुरु गरेको तथा किस्ताबन्दी सुविधामा समेत प्रवेश गरेको बताए।
विपद् व्यवस्थापनका क्रममा कागजमा सीमित नभई मैदानमै उत्रिएर वीपी राजमार्ग र तातोपानी नाका खुलाउने कार्यलाई पनि उनले आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।
मन्त्री घिसिङले १०० दिनको अवधिमा १०१ वटा प्रमुख कार्य सम्पन्न गरेको प्रगति विवरण सार्वजनिक गरेका हुन्।
यस्तो छ सय दिनको अवधिमा गरिएका प्रमुख कार्यको सूची
सूची हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1gpTOex5aNBQqAB1TbPEuuH1Sfdux5pR3/view?usp=sharing











प्रतिक्रिया