रियाद, (एजेन्सी)
ब्राजिलियन फरवार्ड डेभिड नेरेसको दुई गोलको मद्दतले बोलोग्नालाई हराउँदै नापोलीले इटालियन सुपर कपको उपाधि जितेको छ ।
साउदी अरेबियाको रियादमा सोमबार राति सम्पन्न फाइनल खेलमा २–० जितको उत्कृष्ट प्रदर्शन गर्दै नापोलीले तेस्रो पटक यो प्रतिष्ठित ट्रफी आफ्नो नाममा लेखाउन सफल भएको हो । २८ वर्षीय नेरेसले खेलको ३९ औं मिनेटमा शानदार गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ५७ औं मिनेटमा बोलोग्नाका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै व्यक्तिगत दोस्रो गोल थपेर जित सुनिश्चित गरे ।
सेमिफाइनलमा एसी मिलानविरुद्ध पनि गोल गरेका नेरेस नै फाइनल खेलको मुख्य नायक बने । जितपछि उत्साह व्यक्त गर्दै नापोलीका खेलाडी माटेओ पोलिटानोले आफूहरू इटालीको च्याम्पियन भएको र निर्धारित लक्ष्यअनुसार नै ट्रफी जित्न सफल भएको बताए । यस सफलतासँगै नापोलीले सन् १९९० र २०१४ पछि पुनः सुपर कप जितेको छ । सिरी ‘ए’ को साविक विजेता नापोलीले यो जितसँगै घरेलु फुटबलमा आफ्नो वर्चस्व पुनः प्रमाणित गरेको छ ।
सन् २०२३ देखि चार टोली सहभागी हुने गरी विस्तार गरिएको यो प्रतियोगिता आगामी २०२९ सम्म साउदी अरेबियामै आयोजना हुने सम्झौता रहेको छ । यसअघि सिरी ‘ए’ र इटालियन कप विजेताबीच मात्र खेलिने यो प्रतियोगितालाई अहिले परिमार्जन गरिएको हो । रियादको यो नतिजाले नापोलीको ट्रफी क्याबिनेटमा अर्को महत्वपूर्ण उपाधि थपेको छ ।











प्रतिक्रिया