टी २० विश्वकपको ग्लोबल क्वालिफायर नेपालमा हुने


काठमाडौं।

आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर नेपालमै हुने भएको छ । मूलपानीको दुबै मैदान र त्रिवि रंगशालामा खेल हुने जनाएको छ । आगामी जनवरी १४ देखि फेबु्रवरी १ तारिखसम्म प्रतियोगिता आयोजना हुनेछ ।

समूह बी मा रहेको नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स जस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नु पर्ने चुनौती छ । समूह ’ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी) नामिबिया र अमेरिका छन् । समूह ए का खेलहरू पनि नेपालमै हुनेछ ।
दुवै समूहबाट शीर्ष तीन टोली क्वालिफायरमा छनोट हुने छन् । क्पालिफायरमा दुवै समूहबाट छानिएका तीनवटै टोलीले अर्को समूहका सबै तीन टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।

क्वालिफायरका खेलहरु माघ १४, १६ र १८ गते हुनेछन् । क्वालिफायरबाट शीर्ष चार टोली इङल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी २० विश्वकपका लागि छनौट हुनेछन् । यो विश्वकप आगामी जुन १२ देखि जुलाई ५ तारिखसम्म हुनेछ ।

नेपालको खेलहरू

समूह चरणको पहिलो खेलमा नेपालले माघ ४ गते थाइल्यान्डविरुद्ध र दोेसे खेलमा माघ ८ गते नेदरल्यान्ड्सविरुद्ध मुलपानी माथिल्लो मैदानमा खेल्नेछ । त्रिवि रंगशालामा नेपालले तेस्रो खेलमा माघ १० गते जिम्बावेविरुद्ध र अन्तिम खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।

ग्लोबल क्वालिफायरअघि प्रत्येक टिमले दुई÷दुई अभ्यास खेल खल्नेछन् । यस क्रममा नेपालले पुष ३० गते मुलपानीको तल्लो मैदानमा आयरल्यान्ड तथा त्यसको दुई दिनपछि त्रिवि रंगशालामा अमेरिकासँग खेल्नेछ ।

नेपालको सम्भावना छ

नेपालको समूहमा नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे जस्ता शसक्त टोलीहरू छन् । यी टोलीहरूलाई हराउन नेपालले ठूलो चुनौती पार गर्नु पर्ने देखिन्छ ।

तर, नेपाली महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले भने नेपालको टी २० विश्वकप खेल्ने संभावना रहेको बताए । यसै प्रतियोगिताको लागि भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले महिला टोलीका लागि विदेशी प्रशिक्षक नियुक्त गरेको हो ।