निर्वाचनको माहोल बनाउन प्रधानमन्त्री र दलका तीन शीर्ष नेताबीच संवाद

राष्ट्रपतिले बनाइदिए वातावरण


काठमाडौं।

आगामी फागुन २१ मा निर्वाचन गराउने दायित्व बोकेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र तीन ठूला दलका शीर्ष नेताहरूबीच मंगलबार शीतल निवासमा संवाद भएको छ । देशको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको बिग्रँदो वातावरण र बढ्दो अस्थिरताका बीच निर्वाचनको माहोल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद भएको हो ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको थियो । सुशीला कार्की प्रधानमन्त्री बनेपछि शीर्ष तहका नेताहरूसँग बसेर गरेको यो पहिलो औपचारिक भेट हो, जसलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

झण्डै साढे २ घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण तयार गर्न प्रयासरत् रहेको बताउँदै सबै दललाई निर्वाचनका लागि तयार रहन र सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभएकी कार्कीले यसअघि पटक–पटक सार्वजनिक रूपमा राजनीतिक दलका शीर्ष नेताको मुख हेर्न नचाहेको अभिव्यक्ति दिनुभएको थियो । मुलुकको अवस्था बिग्रँदै गएपछि कार्कीले राष्ट्रपतिलाई गुहार मागेर दलका नेतासँग निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्कीको सार्वजनिक अभिव्यक्तिप्रति कठोर हुँदै आएका दलका नेताहरूले राष्ट्रपतिको आग्रहपछि मात्रै दलका नेताहरूले प्रधानमन्त्री कार्कीलाई सामूहिक रूपमा भेटेका हुन् । तर, पछिल्लो समय निर्वाचनको वातावरण क्रमशः बिग्रँदै जानु, दलहरूबीच टकराब बढ्नु र राजनीतिक प्रक्रियामै संकट देखिन थालेपछि प्रधानमन्त्री कार्की दबाबमा पर्दै आउनुभएको थियो ।

यसै सन्दर्भमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई राजनीतिक संवादका लागि पहल गर्न आग्रह गरेको र त्यसकै परिणामस्वरूप शीतल निवासमा यो उच्चस्तरीय भेट भएको बताइएको छ । छलफलमा आगामी निर्वाचन, राजनीतिक स्थायित्व, जनआन्दोलनपछिको अवस्था र सहकार्यका सम्भावनाबारे गम्भीर विमर्श भएको थियो ।

राष्ट्रपति पौडेलको सक्रियतामा भएको यो भेटलाई टुट्दै गएको राजनीतिक संवादलाई पुनः जोड्ने प्रयासका रूपमा लिइएको छ । बैठकले तत्काल कुनै ठोस निष्कर्ष ननिकाले पनि शीर्ष नेताबीच प्रत्यक्ष संवाद सुरु हुनु नै वर्तमान राजनीतिक संकट समाधानतर्फको महत्वपूर्ण संकेत मानिएको छ ।