काठमाडौं।
पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत अमृत साइन्स कलेजकी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएपछि सोमबार स्वदेश फर्किएकी छन् ।
गत भदौ २४ गते जेनजी समूहले आह्वान गरेको आन्दोलनका क्रममा आफ्नै निवासमा घरभित्रै थुनेर आगो लगाउँदा गम्भीर घाइते भएकी चित्रकारलाई तत्काल उद्धार गरी किर्तिपुर स्थित बर्न अस्पतालमा उपचार गरी थप उपचारका लागि भारत लगिएको थियो । आगलागीबाट उनी ग्यास च्याम्बरजस्तै अवस्थाको चपेटामा परेको त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै चित्रकारले बताइन् ।

चित्रकारले दुई दशकभन्दा बढी समय अमृत साइन्स कलेजमा प्राध्यापन गर्दै आएकी थिइन् । लामो समयसम्म शिक्षण सेवामा समर्पित रहँदै आएकी चित्रकार निर्दोष अवस्थामा हिंसात्मक घटनाको सिकार बन्नुपरेको भन्दै मानव अधिकारकर्मी र सरोकारवालाले घटनाको निन्दा गर्दै आएका छन् ।
स्वदेश फर्किएपछि प्रतिक्रिया दिँदै चित्रकारले आफूलाई उपचारका क्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । उनले “राज्यप्रति मेरो कुनै गुनासो वा माग छैन । जसले मनले सहयोग गर्नुभयो, सबैप्रति धन्यवाद छ,” उनले भनिन् । तर, जेनजी आन्दोलनको नाममा हिंसात्मक गतिविधिमा संलग्न दोषी पहिचान गरी कारबाही हुनुपर्ने माग भने उनले राखिन।
उनले आन्दोलनका क्रममा निर्दोष नागरिकमाथि भएको हिंसाले गहिरो मानसिक र शारीरिक पीडा दिएको उल्लेख गर्दै भनिन्, “मैले किताबमा पढेको हिटलरको ग्यास च्याम्बरको पीडा आफ्नै जीवनमा भोग्नुप¥यो ।”
घटनापछि राजनीतिक दल, नागरिक समाज र मानव अधिकार संस्थाले आन्दोलनका क्रममा भएको आगलागी र हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन् । यद्यपि, अहिलेसम्म घटनामा संलग्न ठोस दोषी सार्वजनिक भइसकेका छैनन् । पूर्वप्रधानमन्त्री खनालको सचिवालयका अनुसार चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ र थप उपचार नेपालमै जारी रहनेछ ।
रवीलक्ष्मी चित्रकार
राज्यप्रति मेरो केही गुनासो र माग छैन । जसले आफूले सो मनले सहयोग गर्नुभएको छ उहाँहरुलाई धन्यवाद । राज्यले बुझेर आफै सहयोग गर्यो भने छुट्टै कुरा हो, हाम्रो केही माग छैन । जसले जे बुझेर जेनजी भाई बैनीहरुको अबोध पनको मुखुण्डो ओढेर जसले यो देशलाई विध्वस पार्न प्रयत्न गरे उनीहरुलाई सरकारले चिनेर छिटै कारवाही होस । मैले किताबमा पढेको थिए हिटलरको ग्यास च्याम्बर । त्यो ग्यास चेम्बरमा म आफै परे र यो गति भयो । मलाई बचाउँन जस्ले सहयोग गर्नुभयो उहाँहरुलाई धन्यवाद ।











प्रतिक्रिया