दोलखा।
बागमती प्रदेश सरकारको उद्योग बाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले प्रदेश र स्थानीय सरकार बीच समन्वय हुन नसक्दा प्रदेशका धेरै योजनाहरु प्रभावकारी नभएको उल्लेख गर्दै आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताइन् ।
उद्योगको लागि प्रदेश सरकारले दिँदै आएको अनुदान एकै परिवारले पटक– पटक लिने गरेको कुरा सुनिन्छ, जसको कारण प्रदेशका योजनाहरु प्रभावकारी हुन सकिरहेको छैन मन्त्री श्रेष्ठले भनिन्– त्यसैले पनि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय आवश्यक छ ।
नेकपा एमाले दोलखाले पार्टी कार्यालयमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा प्रदेश सरकारको उद्योग बाणिज्य, भूमि तथा प्रशासन मन्त्री श्रेष्ठले परम्परागत मौलिक सीप हराउदै गएको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनको लागि प्रदेश सरकारले योजना बनाई रहेको बताइन् । मन्त्री श्रेष्ठले स्थानीय स्रोत– साधनबाट सञ्चालन गरिने उद्योगलाई प्राथमिकता दिनुपर्ने पनि बताइन् ।
उनले उद्योगीहरु दोहोरो करको मारमा परेको गुनासो धेरै सुनिने गरेको उल्लेख गर्दै त्यसको समाधानको लागि स्थानीय सरकारसंग बसेर छलफल गरिने बताइन् ।
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले ग्रामिण क्षेत्रमा फलामे हलो, जनै, मफलर बनाउने उद्योग, दुना– टपरी बनाउने उद्योग सञ्चालनमा प्रदेश सरकारको सहयोग आवश्यक हुने बताए ।
प्रदेश सरकारले सानो– सानो कुरामै लगानी गर्नुस् तर त्यो दिगो र स्थानीय आवश्यकताको आधारमा छनौट गर्नुस्– एमाले अध्यक्ष नर बहादुर श्रेष्ठले भने ।
भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला वस्नेतले व्यवसायीहरुले दोहोरो कर तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसको अन्त्यको लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता– कार्यकर्ता, पत्रकार, उद्योगी– व्यवसायी लगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया