काठमाडौँ।
जेनजी विद्रोहका मागहरू अझै सम्बोधन नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शनलाई निरन्तरता दिएको छ। सरकार जेनजी विद्रोहको भावना अनुरूप अघि नबढेको भन्दै उनीहरूले काठमाडौंको माईतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका हुन्।
यसअघि सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा मिराज ढुंगानासहित केहीलाई नियन्त्रणमा लिएको थियो। त्यसको विरोधस्वरूप मंगलबारको प्रदर्शन थप सशक्त बनेको प्रदर्शनकारीहरूको भनाइ छ।
प्रदर्शनमा सहभागीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’ र ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
जेनजी समूहहरूले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, आन्दोलनमाथि भएको दमनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्। आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि उनीहरूले दिएका छन्।











प्रतिक्रिया