धनराज गुरुङको प्रश्न: ‘जेनजी आफैंले निर्वाचन नहुने भनिसकेपछि सरकार कति गम्भीर छ?


काठमाडौँ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन् ।

कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा मंगलबार पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् । जेनजी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भनेको उल्लेख गर्दै उनले यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताए । निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उनको भनाइ छ।

उपसभापति गुरुङले सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाएका छन् । पुराना वा नयाँ पार्टीको नाममा कुनैपनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने उनले जिकिर गरे। उनले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा कांग्रेस दृढ रहेको समेत बताएका छन् ।

उपसभापति गुरुङले नेपाली काँग्रेस निर्वाचनबाट नभाग्ने बताए। उनले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको जिकिर गरेका छन् । निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो शर्त रहेको उल्लेख गर्दै उनले सरकारले भयमुक्त वातावरण बनाउन नसकेको बताए।