पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा

564
Shares

म्याग्दी । म्याग्दीमा भर्जिन पर्यटकीय गन्तव्यको पहिचान बनाएको चाङ्गा क्षेत्र मंगला गाउँपालिका–५, अर्मनमा पर्दछ । आजभोलि चाङ्गा क्षेत्रलाई खूब जवानी चढेको छ । भिरालो जमिन, अग्ला डाँडापाखा र पहाड तथा खोँचमा छरिएर बसेको अर्मन गाउँको सिरानमा पर्यटकीय क्षेत्र चाङ्गा पर्दछ ।

जिल्लाको उच्च क्षेत्रमा पर्ने चाङ्गा निकै सुन्दर, आकर्षक र मनमोहक छ । समुद्री सतहदेखि झन्डै २२ सय मिटरको उचाइमा अवस्थित चाङ्गाको वरिपरिबाट हरियाली वनजङ्गल र डाँडाकाँडाको दृश्यले यहाँ भ्रमण गर्न जाने जो–कोही वा पर्यटकहरु पनि मन्त्रमुग्ध हुन्छन् । चाङ्गाको समथर भूभाग पाखोमा स्थानीयले दिनभरजसो भेडाबाखा, गाईगोरु र भैँसी चराउने गर्दछन् । चाङ्गामा मगर समुदाय र विश्वकर्माका २० भन्दा बढी घरधुरीको बसोबास रहेको छ ।

चाङ्गा गाउँमा मकै, सिमी, आलु, फापर, कोदो, गहुँ, जौलगायत खाद्यान्न बालीको उत्पादन हुन्छ । यहाँ घना, वन क्षेत्र पनि रहेको छ । यहाँको वनमा सतुवा, तिते, चिराइतो, टिम्मुरलगायत जडीबुटी र मृग, वनकुखुरा, चितुवा, भालु, दुम्सी, बाँदर, बँदेलजस्ता जङ्गली जनावरहरु रहेको स्थानीयवासी बताउँछन् । यहाँ लेकाली फलफूल तथा तरकारीहरु मुला, सागलगायत अर्गानिक उत्पादनसमेत हुने गरेको छ ।

मौसम खुलेको समयमा चाङ्गा क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण रेन्जमा पर्ने सबै हिमाल छर्लङ्गै देखिने मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्रबहादुर खत्रीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराहशिखर, माछापुच्छ«े, गुर्जा, चुरेनलगायत मनोरम हिमशृङ्खलाका साथै मालिका गाउँपालिका र बेनी नगरपालिकाको पर्यटकीय क्षेत्रसहित विभिन्न भूभागको एकै ठाउँबाट दृश्यावलोकन गर्न सकिन्छ ।’

साथमा दरबाङ, बाबिचायौर, तातोपानी बजार क्षेत्र, नागबेली आकारमा म्याग्दीखोलाको किनारसँगै पहाड र हिमालको मनोरम दृश्यहरु एकै ठाउँ चाङ्गाको धुरीबाट देखिन्छ । चाङ्गाको भ्रमण गर्न आउने पर्यटकहरुलाई चाङ्गावासीले फूलको माला लगाइदिएर स्वागत–सत्कार गर्ने गर्दछन् । पर्यटन प्रवद्र्धनका लागि मंगलाको चाङ्गा क्षेत्र सम्भावित पर्यटकीय स्थल रहेकाले यसको दिगो विकास र प्रवद्र्धनमा विशेषरुपमा जोड दिनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

पर्यटकीय क्षेत्रको रुपमा रहेको चाङ्गाको पर्यटन प्रवद्र्धन गर्नको लागि मंगला गाउँपालिकाले चाङ्गा गाउँसम्मै पुग्ने सडक विस्तार गरिदिएको छ । पर्यटकीय स्थल चाङ्गा क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनमा स्थानीय उत्पादनको बजारीकरण, भेडीगोठलाई व्यवस्थित बनाउन र स्थानीयलाई होमस्टे तालिम दिएर घरबास कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा चाङ्गा क्षेत्रले विकास र प्रवद्र्धनमा फड्को मार्न सक्ने सम्भावना देखिन्छ ।