
स्याङ्जा । पुतलीबजार नगरपालिका–१३, झापाकोटस्थित कालिका माध्यमिक विद्यालयले यो वर्ष ६ सय १० किलो आलु खेती गरेको छ । कृषि विकास कार्यालय, स्याङ्जाबाट अनुदानमा प्राप्त आलुका बीउ पाएपछि विद्यालयले विद्यालय परिसरको जग्गामा व्यवस्थित रुपमा खेती शुरु गरेको हो । बाली विकास कार्यक्रमअन्तर्गत प्राप्त जनकदेव, खुमल रातोलगायतका उन्नत जातका आलु विद्यालयले प्रयोगमा ल्याएको कृषि शाखाले जनाएको छ । विद्यालयमा कृषि शिक्षालाई व्यावहारिक रुपमा प्रोत्साहित गर्न आस्क नेपालको सहकार्यमा गड्यौला मल उत्पादन तथा प्रांगारिक कृषि पाठशाला सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ । यी कार्यक्रमहरुले विद्यालयले उत्पादन गर्ने तरकारी तथा अन्य खाद्यान्न बालीको मात्रामा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद कोइरालाका अनुसार विद्यालयले गतवर्ष मात्रै ५१ हजार रुपियाँको मकै र ६६ हजार ६ सय ५५ रुपियाँको धान बिक्री गरेको थियो । विद्यालयले करिब ७ रोपनी जग्गा भाडामा लिएर विगत तीन वर्षदेखि आलु खेती गर्दै आएको छ । आलुसँगै अन्य खाद्यान्न बालीहरु पनि विद्यालयले निरन्तर उत्पादन गर्दै आएको छ । विद्यालयको कुल ६० रोपनी जग्गामध्ये गतवर्ष ३ सय बोट सुन्तलाका बिरुवा रोपिएको छ । अध्यक्ष कोइरालाका अनुसार आगामी वर्ष थप २ सय बिरुवा रोपी ५ सय सुन्तलाका बिरुवासहितको बगैँचा विकास गर्ने योजना विद्यालयले अघि सारेको छ । अध्यक्ष कोइरालाले भन्नुभयो, ‘कृषि क्षेत्रमै अब्बल हिसाबले काम गर्दै आएको विद्यालयलाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो ।’
कृषि क्षेत्रमा सक्रिय अध्यक्ष कोइराला व्यवस्थापन समितिको नेतृत्वमा आएपछि विद्यालयको कृषि गतिविधि संगठित र विस्तारित बन्दै गएको छ । विद्यार्थीले कक्षाकोठाका सिद्धान्तसँगै खेतबारीमा गएर प्रत्यक्ष अनुभव लिन पाउने भएकाले प्रयोगात्मक ज्ञान अभिवद्र्धन भएको शिक्षकहरुको भनाइ छ । विद्यालयमा उत्पादन हुने अन्न, तरकारी तथा फलफूलले विद्यालयलाई अतिरिक्त आयको स्रोत त बनेको छ नै, साथै विद्यालयको दिवा खाजा कार्यक्रम तथा अन्य अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्न पनि सहयोग पुगेको छ । कृषि उत्पादन विद्यालय परिवारभित्रका अभिभावक, शिक्षक तथा स्थानीय समुदायले नै खरिद गर्ने भएकाले बजार व्यवस्थापन सहज भएको विद्यालय प्रशासनको भनाइ छ ।
पुतलीबजार नगरपालिकाको अपेक्षाकृत विकट क्षेत्र मानिने झापाकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा माझी, दलित, विपन्न तथा सीमान्तकृत समुदायका करिब ५ सय ७० विद्यार्थी अध्ययनरत छन् । आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीलाई विद्यालयको कृषि उत्पादनले पोषण, सीप तथा आत्मनिर्भरता अभिवृद्धि गर्दै आएको अभिभावकहरुको अनुभव छ । विद्यालय व्यवस्थापन समितिले भविष्यमा विद्यालयलाई नमुना कृषि विद्यालयको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । कृषि, वातावरण र प्रविधिको संयुक्त व्यावहारिक शिक्षामा जोड दिँदै विद्यालयले आगामी वर्षहरुमा फलफूल, तरकारी तथा जैविक खाद उत्पादन विस्तार गर्ने योजना बनाएको छ ।
विद्यालयका अध्यक्ष कोइरालाले भन्नुभयो, ‘कृषि शिक्षाका माध्यमबाट विद्यार्थीलाई व्यावहारिक सीप दिन सकिन्छ । विद्यालय आत्मनिर्भर बन्छ, विद्यार्थी सक्षम बन्छन्, समुदाय सशक्त बन्छ, यही लक्ष्यका साथ हामी अघि बढिरहेका छौँ ।’ कालिका माध्यमिक विद्यालयको यो पहल ग्रामीण क्षेत्रका विद्यालयहरुलाई आत्मनिर्भरता र व्यावहारिक शिक्षाको मार्गदर्शन गर्ने सफल उदाहरणका रुपमा देखिएको छ ।











प्रतिक्रिया