काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्य चयनका लागि काठमाडौं उपत्यकाबाहिर सम्पन्न निर्वाचनमा कुल ६ हजार ८ सय ४६ मत खसेको छ । पुस ४, ५ र ६ गते तीन दिनसम्म देशका विभिन्न भागमा सञ्चालन भएको मतदानमा उल्लेख्य सहभागिता देखिएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार उपत्यकाबाहिर तोकिएका १८ मतदान केन्द्रमध्ये सबैभन्दा धेरै मत भरतपुर अस्पताल, चितवनमा खसेको छ । उक्त केन्द्रमा मात्रै ९ सय ६६ मत खसेको उहाँले जानकारी दिनुभयो । ‘उपत्यकाबाहिरको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ’, रजिस्ट्रार देवले भन्नुभयो– ‘मतदान प्रक्रियामा चिकित्सकहरूको सक्रिय सहभागिता देखिएको छ ।’
निर्वाचन समितिका अनुसार काउन्सिलको निर्वाचनका लागि देशभर २१ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये काठमाडौं उपत्यकाबाहिरका केन्द्रहरूमा पुस ४ र ५ गते मतदान तोकिएकोमा दुई स्थानमा रोकिएको मतदान पुस ६ गते सम्पन्न भइसकेको छ भने काठमाडौं उपत्यकामा हुने मतदानका लागि पुस ११ र १२ गते मिति तय गरिएको छ ।
उपत्यकाबाहिरका मतदान केन्द्रमध्ये कोशी अस्पताल विराटनगरमा ९ सय २५ मत खसेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ सय मत खसेको छ । त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५ सय ८१, प्रादेशिक अस्पताल जनकपुरमा ६ सय १७, नारायणी अस्पताल वीरगञ्जमा ४ सय ९१ तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ४ सय ३२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अन्य केन्द्रहरूमा पनि उल्लेख्य सहभागिता देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा ३ सय १८, सेती प्रादेशिक अस्पताल धनगढीमा २ सय ९६, भीम अस्पताल भैरहवामा २ सय ७१, मेची प्रादेशिक अस्पताल भद्रपुरमा २ सय ७५ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १ सय ८८ मत खसेको छ । यसै गरी हेटौंडा अस्पतालमा १ सय ३९, पाल्पा अस्पताल तानसेनमा १ सय १५, लहान अस्पतालमा १ सय ३०, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा ८७, कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा १ सय २३ तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ९२ मत खसेको छ ।
नेपाल मेडिकल काउन्सिलको नेतृत्व चयनसँगै चिकित्सा शिक्षा, चिकित्सक दर्ता, आचारसंहिता र नियमनको भूमिकामा नयाँ दिशा तय हुने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यकाको मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।











प्रतिक्रिया