राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न ओली–देउवा भेट


काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुग्नुभएको थियो । महासचिव शंकर पोखरेलसहित ओली सोमबार दिउँसो देउवाको अस्थायी निवास महाराजगञ्ज पुग्नुभएको हो ।
स्रोतका अनुसार ओली–देउवा भेटको मुख्य एजेन्डा आगामी राष्ट्रियसभा निर्वाचनको तयारी र त्यससँग सम्बन्धित राजनीतिक समन्वय रहेको छ । राष्ट्रियसभा निर्वाचनमा आवश्यक सहकार्य, उम्मेदवार चयन र सम्भावित समीकरणबारे दुवै नेताबीच छलफल भएको बताइएको छ ।

भेट औपचारिक भनिए पनि पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका कारण यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले अध्यक्ष ओलीसँगै पार्टी महासचिव शंकर पोखरेल पनि देउवा निवास पुग्नुभएको थियो । यसले छलफल केवल शिष्टाचार भेटमा सीमित नरही राजनीतिक तथा रणनीतिक विषयमा केन्द्रित भएको संकेत गरेको छ । एमालेका एक नेताकाअनुसार राष्ट्रियसभा निर्वाचनमा पार्टीको भूमिकाबारे कांग्रेस नेतृत्वसँग स्पष्ट धारणा आदान–प्रदान गर्न ओली देउवाकोमा पुग्नुभएको हो ।

यसअघि गत मंसिर १९ गते पनि अध्यक्ष ओली कांग्रेस सभापति देउवालाई भेट्न पुग्नुभएको थियो । उक्त भेटपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको थियो । उक्त भेटलगत्तै नेपाली कांग्रेसका सांसदहरू प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेका थिए, जसलाई राजनीतिक घटनाक्रमको महत्वपूर्ण कडीका रूपमा हेरिएको थियो ।

संसद् विघटन, प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहनु र दलहरूबीच बढ्दो संवादका बीच ओली–देउवा भेटलाई संयोगमात्र नभई विकसित राजनीतिक सन्दर्भसँग जोडेर हेरिएको छ । विश्लेषकहरूका अनुसार राष्ट्रियसभा निर्वाचनले आगामी सत्ता समीकरण र संसद् राजनीतिमा निर्णायक प्रभाव पार्न सक्ने भएकाले ठूला दलका शीर्ष नेताहरूबीच संवाद बढ्नु स्वाभाविक हो ।

ओली–देउवा भेटबारे दुवै दलका तर्फबाट औपचारिक वक्तव्य भने सार्वजनिक गरिएको छैन । तर, दुवै दलका नेताहरूका अनुसार भेट सौहार्दपूर्ण वातावरणमा भएको र राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राखेर छलफल गरिएको हो । एकातिर प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहँदा, अर्कोतिर राष्ट्रियसभा निर्वाचनको तयारी अघि बढिरहेका बेला एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीचको भेटलाई आगामी दिनको राजनीतिक दिशा संकेत गर्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।